गाेलभेँडा खेतीमा जमेका नरपानीका भट्टराई

 साउन २२, २०८० सोमबार १६:३५:५३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीका किसान सूर्यबहादुर भट्टराईको बारीमा अहिले गाेलभेँडा लटरम्म फलेको छ । बर्खायाममा गाेलभेँडा खेती गर्नका लागि बनाएका प्लास्टिक टनेभित्र भट्टराईले थरीथरीका गाेलभेँडा लगाउनुभएकाे छ । गाेलभेँडा बिक्रीका लागि कुनै समस्या नभएको उहाँकाे भनाइ छ ।

भट्टराईले भन्नुभयाे, ‘अहिले टमाटरको भाउ पनि उच्च छ । यो सिजनमा मात्रै १४/१५ क्विन्टलभन्दा बढी गाेलभेँडा फलेको छ । नरपानी बजार र सुपादेउराली बजारमा गाेलभेँडा बिक्री हुने गरेको छ । धेरै लगानी पनि गर्नु नपर्ने, थोरै लगानीमा दैनिक आम्दानी हुने भएपछि घरखर्च र छोराछोरीको पढाइका लागि कुनै समस्या छैन । लगानी धेरै गर्न पर्दैन । मेहनत धेरै गरे पुग्छ । तरकारी खेतीबाट म सन्तुष्ट छु ।’

केही वर्ष पहिला जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख योगप्रसाद खरेलले दिएको हौसला, प्रेरणाका साथै पाणिनीको पोखराथोकका सफल अगुवा किसान अच्युत गौतमको कृषि क्रान्तिबाट कृषिमा लाग्नुभएका भट्टराईले बारीमा गाेलभेँडा मात्र हाेइन काँक्राे, घिरौला, बन्दा, फूलगोभीलगायतका तरकारी पनि फलाउनुहुन्छ । वार्षिक सात/आठ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँकाे भनाइ छ ।

बाली वस्तु विशेष प्रवर्धन कार्यक्रमअन्तर्गत उहाँकाे भट्टराई कृषि फार्मका लागि तीन सय वर्गमिटर प्लास्टिक घरमा खेती गर्नका लागि एक लाख रुपैयाँ प्रदान गरेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेर फर्मको निजी लगानी ९७ हजार र ज्ञान केन्द्रको एक लाख गरी एक लाख ९७ हजार रुपैयाँमा पाँच वटा प्लास्टिकका टनेल बनाएर गाेलभेँडा लगाउँदा उत्पादनमा वृद्धि भएको भट्टराईले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आफ्नाे सहकार्यमा किसानहरूले गरेका कामकाे अनुगमन पनि गरेको छ । अनुगमन तथा मूल्याङ्कन कार्यक्रममा किसानहरूले अनुदानका कार्यक्रम बीचमै छोड्नु भन्दा निरन्तरता दिँदा आफूहरूहरूलाई ठूलो राहत हुने बताएका छन् ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले व्यावसायिकरूपमा सञ्चालन हुँदै आएका कृषि तथा पशुपक्षीसँग सम्बन्धित उत्पादनमुखी अनुदान कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेले राम्रो काम गरेका किसानहरूकाे मागलाई सम्मान गर्दै नियमितरूपमा उत्पादनमा लाग्न अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया