पीपीएल : चितवनकाे पहिलाे जित, धनगढी ६७ रनमै अलअाउट

 कात्तिक १४, २०७५ बुधबार १२:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोजले पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा पराजित भएको चितवनले बुधबार धनगढीलाई एक सय २६ रनको भारी अन्तरले हरायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ९३ रन बनायो ।

निकै बलियो सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि एक सय एक रनको साझेदारी गरेका थिए । जारी प्रतियोगितामा यो चितवनको अहिलेसम्म कै ठूलो साझेदारी हो । यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । तर अनिल ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो ।

त्यसपछि हरिशंकर शाह पनि अर्धशतक बनाउदै आउट हुन पुगे । उनले ३३ बलमा ५३ रन बनाए । जसका कारण चितवनले एक सय १० रनमा दोस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्का पनि आक्रामक रुपमा उत्रिएका थिए । तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनले ९ बलमा १९ रन बनाउदै आउट भए । सो बेला चितवनको स्कोर एक सय ४० रन थियो ।

त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउँदा चितवनले एक सय ६२ रनमा ५ विकेट झर्‍याे । त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए । बलिङतर्फ दिपेन्द्र ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले एक एक विकेट लिए ।

जवाफमा धनगढी १६ ओभर दुई बलमा मात्र ६७ रनमा अलआउट भयो । धनगढीको पारी सुरुवातदेखि नै धरापमा पर्‍याे । खाता खोल्न नपाउदै दुई विकेट गुमाएको धनगढीले सात रनमा तेस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनरले खाता खोल्न सकेनन् । यस्तै सन्दीप सुनारले मात्र एक रन बनाए ।

त्यसको लगत्तै कप्तान दिपेन्द्र ऐरी पनि ब्यक्तिगत एक रनमा आउट भएपछि धनगढीले २७ रनमा चार विकेट खेर फाल्यो । ठूलो लक्ष्य पक्ष्याएको धनगढीको पारीमा कुनै पनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् ।

सन्दीप जोरा र सौरभ खनाल आठ–आठ रनमा आउट भएभने पिटर ट्रेगोले २७ रन बनाए । जुन धनगढीको पारीमा सर्वाधिक स्कोर हो । अरु खेलाडी पनि सस्तैमा आउट भएपछि धनगढी कमजोर साविक भयो । बलिङ तर्फ सन्नी पटेलले चार तथा भुवन कार्की र स्मिथ पटेलले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया