दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको नाम टुङ्ग्याउन व्यस्त, रास्वपाले गृहसहित ४ जनाको नाम टुङ्ग्यायो

 फागुन २३, २०८० बुधबार १५:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउन व्यस्त भएका छन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ ।

आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेले गृह र अर्थमध्ये एउटा आफ्नो भागमा हुनैपर्ने बताए पनि दुवै मन्त्रालय नपाउने भएको छ । गृह वा अर्थमध्ये एउटा मन्त्रालय पाएको पाए उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने योजनामा रहेको एमालेले अब सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्री पठाउने भएको हो । रघुवीर महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने सम्भावना छ ।

यस्तै माओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाउने भएको छ । नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने सम्भावना छ । सरकारमा सहभागिताको विषयमा जनता समाजवादी पार्टीले कुनै निर्णय दिएको छैन ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा औपचारिक निर्णय गरेको छैन । एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले पनि वैकल्पिक गठबन्धनमा निम्तो दिएको समाचार बाहिरिएका थिए । प्रचण्डले धोका दिएको भन्दै कांग्रेस सभापति देउवाले नयाँ गठबन्धन बनाउन एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतका दलसँग छलफल गर्नुभएको  छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तीन वटै प्रदेशमा आफ्ना मन्त्रीहरू बर्खास्त भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया