सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक रोजगारीमा रहनुभएकाको अप्ठेरोको साथी हो

 बैशाख ६, २०८० बुधबार १७:२२:४० | राेहित रेग्मी
unn.prixa.net

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेकाहरूका लागि सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको एक महिना पुग्दै छ ।

यो अवधिमा एकदमै उत्साहपूर्ण रूपमा श्रमिक दाजुभाइ दिदीबहिनी तथा विदेशमा स्वरोजगार रहनुभएका व्यक्तिहरू सहभागी भइरहनुभएको छ । 

आयको निरन्तरता गर्ने कार्यक्रम 

हाम्रा दाजुभाइ दिदीबहिनीहरू विदेशमा जानुभएको छ । विदेशमा गएर सबैले कमाएर आफ्नो सपना पूरा गर्न सक्नुभएको छैन । कयौँ दाजुभाइ दिदीबहिनीहरूले दुर्घटना परेर जीवनभर अशक्त भएर बस्नुपर्ने अवस्थाको साथसाथै, कतिपय दाजुभाइ दिदीबहिनीहरू बाध्यतावश बिदेसिन पर्ने र फर्कँदा बाकसमा फर्कनु भएकाहरूको सङ्ख्या पनि ठुलो छ । यो विडम्बना पूर्ण स्थिति हो ।

वैदेशिक रोजगारीका रहनु भएकाहरूको यो विडम्बनाको परिस्थितमा देशमा औपचारिक क्षेत्रका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु भइसकेको परिवेशमा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि पनि यो कार्यक्रम सुरु गर्न आवश्यक छ भनेर सुरुवात गरिएको हो । 

दोस्रो कुरा भनेको यो सरकारले ल्याएका अरू कार्यक्रमभन्दा फरक कार्यक्रम हो । यो कस्तो कार्यक्रम हो त भन्दा एउटा श्रमिकको जीवनमा आउने सबै खालका आर्थिक असहजतामा आम्दानीको निरन्तरताको सुनिश्चित गर्ने एउटा संयन्त्र हो । आइएलो कन्भेन्सन १०२ ले विभिन्न ९ वटा सामाजिक सुरक्षा कार्यक्रम भन्छ ।

अहिले हामीले वैदेशिक क्षेत्रका लागि सबै कार्यक्रमको सुरुवात गर्न सकेका छैनौँ । ९ मध्ये केही मात्रमा सुरु भएको छ । ती कार्यक्रमहरू मध्ये हाम्रा दाजुभाइ दिदीबहिनीहरूले दुर्घटना हुँदा पनि औषधी उपचार नपाउने अवस्था नहोस् भन्नका लागि औषधी उपचारको सुविधा गरिएको छ भने उहाँहरू दुर्घटनामा परेर जीवनभर काम गर्न नसक्नुहुने भयो भने थोरै होला तर जीवनभर आयको निरन्तरता होस् भनेर पेन्सनको व्यवस्था गरिएको छ ।

त्यसैले कोही योगदानकर्ताको विदेशमै कुनै पनि कारण ज्यान गयो र उहाँले कोषमा रकम नियमित जम्मा गरिरहनुभएको छ भने उहाँको आश्रित परिवारलाई जीवनभरि पेन्सन दिने र सानो बच्चा छ भने पढाइ खर्च दिने गरी ल्याइएको कार्यक्रम हो ।

कुनै शङ्का आशङ्का वा यहाँ राखेको पैसा कुनै तलमाथि पो हुने हो कि भनेर दुबिधामा रहन पर्दैन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले पनि तपाईँहरूको पैसालाई एकदमै सुरक्षित गरेको छ ।

आफ्नो उर्वर समय जति विदेशमा बिताउने र बुढेसकालमा नेपालमा आइसकेपछि केही गर्न नसक्ने र त्यो बेलामा आर्थिक असहजता हुने हुनाले पनि त्यो बेलामा पनि बुढेसकालमा पेन्सन पाउने गरी ल्याइएको कार्यक्रम हो यो । 

त्यस हिसाबले यसलाई अरू कार्यक्रमजस्तो राज्यले जबरजस्ती थोपरेको कार्यक्रम भनेर शङ्का नगर्नुहुन म सबै दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु ।

सामाजिक सुरक्षा कोष कुनै सरकार विशेषको कार्यक्रम होइन । सञ्चालक समितिमा ट्रेड युनियनको प्रतिनिधित्व छ । रोजगारदाताको प्रतिनिधित्व छ । यस हिसाबले प्रत्यक्ष रूपमा विदेशमा श्रम गर्न जाने तपाईँ दाजुभाइ दिदीबहिनीहरूको यसमा प्रतिनिधित्व नभए पनि अप्रत्यक्ष रूपमा नेपालमा ट्रेड युनियन मोमेन्टमा रहनुभएका लिडरहरू हाम्रो सञ्चालक समितिमा हुनुहुन्छ । त्यस हिसाबले यो तपाईँहरूको कोष हो ।

यो सरकारको मात्र होइन रोजगारदाताको पनि कोष हो । यो कोष सबैको हो । त्यसैले पनि कुनै शङ्का आशङ्का वा यहाँ राखेको पैसा कुनै तलमाथि पो हुने हो कि भनेर दुबिधामा रहन पर्दैन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले पनि तपाईँहरूको पैसालाई एकदमै सुरक्षित गरेको छ ।

जीवन बिमाभन्दा फरक छ सामाजिक सुरक्षा कार्यक्रम

जीवन बिमाले मानिसको जीवनसँग सम्बन्धित जोखिमहरूलाई न्यूनीकरण गर्ने हो । सामाजिक सुरक्षा कार्यक्रमले चाहिँ मानिसको जीवनमा आउने सबै खालका आर्थिक असहजतामा आयको निरन्तरताको सुनिश्चित गर्ने हो । जीवन बिमा क्षतिपूर्तिको सिद्धान्तमा आधारित छ भने सामाजिक सुरक्षा आयको निरन्तरताको सिद्धान्तमा आधारित छ ।

विदेशमा दुर्घटनामा परेर कामै गर्न नसक्ने अवस्था भयो भने नेपाल फर्केपछि नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम बाँचुन्जेल पेन्सनका रूपमा पाउनुहुन्छ । 

सिद्धान्तगत रूपमा नै यी दुई कुरा फरक छन् । विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूले विदेशमा रहँदै गर्दा पनि नेपालको सामाजिक सुरक्षा कोषबाट सुविधा लिन सक्नुहुन्छ ।

विदेशमा उपचार गरेको बिल नेपालमै पठाएर औषधी उपचार गरेको रकम शोधभर्नाका लागि दाबी गर्नु पर्ने हुन्छ ।  यस्तो बिल आफैँ आएर वा आफन्तलाई पठाउँदा पनि हुन्छ । यस्तो विलहरू यति समयभित्र बुझाइसक्नु पर्ने भनेर मिति तोकिएको छैन । तपाईँ नेपाल फर्कँदा बिल ल्याएर पनि दाबी गर्न सक्नुहुन्छ । उपचार खर्च एक लाख रुपैयाँसम्मको पाइन्छ ।

विदेशमा दुर्घटनामा परेर कामै गर्न नसक्ने अवस्था भयो भने नेपाल फर्केपछि नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम बाँचुन्जेल पेन्सनका रूपमा पाउनुहुन्छ । 

यदि ज्यानै गयो भने आश्रित परिवारले लिने सेवा पनि नेपालबाटै लिइहाल्नुहुन्छ र बुढेसकालमा पाउने पेन्सन सुविधा पनि उहाँ नेपाल फर्किएपछि उमेर हद पुगेपछि उहाँले पाइनै हाल्नुहुन्छ । तर एउटा सर्त चाहिँ के हो भने विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीले यो सुविधा पाउन एक वर्षमा ९ महिनाको रकम चाहिँ योगदान गरेको हुनुपर्छ ।

सामाजिक सुरक्षा कार्यक्रम भनेको अप्ठेरोको साथी हो । हाम्रो जीवन सधैँ सहजतासाथ अघि बढ्यो भने सामाजिक सुरक्षा कार्यक्रम नभए पनि हुन्छ भन्ने हुन्छ । म त दाजुभाइ दिदीबहिनीलाई के पनि अनुरोध गर्न चाहन्छु भने धेरै देशहरूले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएका हुन सक्छन् । बुझौँ ।

नेपालमा पनि औपचारिक क्षेत्रका लागि सुरु भइसकेको छ । विदेशमा जानु भएका तपाईँहरूका लागि पनि नेपालको औपचारिक क्षेत्र सरहको सेवा सुविधा पाउने व्यवस्था बिस्तारै गर्ने कोषको योजना छ । अहिले त सुरुवात हो ।

कोषमा सहभागी हुन अप्ठेरो पनि छैन । नयाँ श्रम स्वीकृति लिनेले त श्रम स्वीकृति लिँदा नै सामाजिक सुरक्षा नम्बर प्राप्त गर्नुहुन्छ भने श्रम स्वीकृतिको नवीकरणको आवेदन दिनेहरूले पनि कोषमा सहभागी भएको नम्बर पाउनुहुन्छ। 

विदेशमा रहनुभएका तपाईँहरूले पनि अनलाइनबाट आबद्ध हुन सक्नुहुन्छ । https://ssf.gov.np/ मा जाने र त्यहाँ भित्र वैदेशिक रोजगार सूचीकरण भनेर छ त्यसमा क्लिक गरेपछि वर्करमा जानुभएको हो कि वा सेल्फ इप्लोइड हो त्यो छानेर केही विवरण हालिसकेपछि विभागको वेबसाइटसँग त्यसको लिंकअप छ त्यसबाट नै केही विवरणहरू आउँछ भने केही विवरणहरू तपाईँले भर्न पार्ने हुन्छ । विवरण भरेर सबमिट गर्दा आफ्नो इमेल पनि हाल्नुहोला ।

किनभने विदेशको मोबाइल नम्बरमा कोडहरू नजान सक्छ । त्यसैले सही इमेल नै हाल्नुभयो भने सहज हुन्छ । यति गरेपछि तपाईँको इमेलमा सबमिसन नम्बर र सामाजिक सुरक्षा नम्बर आउँछ । यी दुइटाको आधारमा तपाईँले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्नुहुन्छ ।

अनिश्चित भविष्यमा आउन सक्ने असहजताहरूलाई सहज बनाउन समयमै आबद्ध हुन वैदेशिक रोजगारीमा जानु हुने र वैदेशिक रोजगारीमा रहनुभएका तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु ।

अहिले सात देशबाट कोषको अनलाइन सिस्टमबाट आबद्ध हुने पहुँच दिइएको छ । यूएई, कतार, साउदी, मलेसिया, कुवेत, जापान र दक्षिण कोरियाबाट आबद्ध हुन सक्ने गरी व्यवस्था भइसकेको छ र यी देशबाट आबद्ध पनि भइराख्नुभएको छ ।

सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पुनः के आग्रह गर्दछु भने सामाजिक सुरक्षा कोष कुनै अवकाश कोष पनि होइन र इन्स्याेरेन्स पनि होइन । यो एउटा तपाईँ हामीजस्ताको जीवनमा पर्ने सबै खालका अप्ठेरोमा कुनै न कुनै रूपमा मलम पट्टी लगाउने गरी आएको एउटा अप्ठेरोको साथी हो ।

यो हामीले नै रकम योगदान गरेको आधारमा सुविधा पाउने कोष हो । सामाजिक सुरक्षा कोषमा योगदान गरेर अनिश्चित भविष्यमा आउन सक्ने असहजताहरूलाई सहज बनाउन समयमै आबद्ध हुन वैदेशिक रोजगारीमा जानु हुने र वैदेशिक रोजगारीमा रहनुभएका तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु ।

(सह प्रवक्ता रेग्मीसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

राेहित रेग्मी

रेग्मी सामाजिक सुरक्षा कोषका उप–निर्देशक तथा सहायक प्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया