वैदेशिक रोजगार बचतपत्र खुला, विदेशबाट यसरी सकिन्छ किन्न

 बैशाख २०, २०८० बुधबार १६:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले किन्न पाउने वैदेशिक रोजगार बचतपत्र खुला गरेको गरेको छ ।

यही वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना नकटेका र गैरआवासीय नेपालीहरूले आफू र आफ्नो परिवारको नाममा खरिद गर्न सक्ने गरी ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८५ खुला गरेको हो ।

बचतपत्र घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरीको रकमसम्म किन्न सकिन्छ । यसरी खरिद गरिएको रकमको साँवा २०८५ जेठ २४ गते राष्ट्र बैंकले भुक्तानी दिनेछ । तर ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गर्ने बैंकले जनाएको छ । बचतपत्रको ब्याजदर ११ प्रतिशत पाइने छ । तर यसमा ब्याजदर कर भने लाग्ने छ ।

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिन्छ । ६/६ महिनामा प्राप्त हुने ब्याज बचतपत्र किन्ने व्यक्ति आफैंले वा इच्छाएको व्यक्तिले पनि भुक्तानी लिन सक्ने व्यवस्था छ ।

 आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाण्डौ उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरूबाट पनि ब्याज भुक्तानी लिन सकिन्छ ।

बचतपत्र स्टक वा प्रमिशरी नोटको रूपमा खरिद गर्न सकिन्छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको बचतपत्रको किसिम फारम भर्दा नै खुलाउन पर्छ । यदि फारम भर्दा खुलाइएन भने प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । 

यो बचतपत्र आफू र आफ्नो परिवारका सदस्य बुवा आमा, श्रीमान् श्रीमती र छोराछोरीको नाममा पनि किन्न सकिन्छ ।  

बचतपत्र किन्न राहदानी, आफू कार्यरत रहेको देशको भिसा, कम्पनीमा काम गरिरहेको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा पठाएको प्रमाण खुल्ने कागजात आवश्यक पर्छ । यदि परिवारको नाममा बचतपत्र किन्ने हो भने परिवारको सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणीतको कागजात पनि आवश्यक पर्छ । 

अनलाइनबाटै सकिन्छ किन्न

वैदेशिक रोजगार बचतपत्र किन्नका लागि नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np मा जानुपर्छ । त्यसपश्चात वेबसाइटको monetary management  भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रिया अनुसार बचतपत्रको आवेदन अनलाइनमार्फत भर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै यही सिस्टममा रहेको वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेण्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिएर पनि अनलाइन आवेदन भर्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंकबाट इजाजत लिएका बिक्री एजेण्टहरु को को हुन् भने बैंकको वेबसाइटबाटै पनि हेर्न सकिन्छ । विदेशमा भएकाहरूले इजाजत लिएका बिक्री एजेण्टको विदेशमा रहेका कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

रीतपूर्वक पेस भएका आवेदन अस्वीकृति भएमा जम्मा भएको रकम बिना ब्याज सात दिन भित्र फिर्ता हुने छ । थप जानकारीका लागि नेपाल राष्ट्र बैंकमा ०१ ४४१९८०४ वा ९८४०४८२९९७ र ९८६०८६१०२५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

यी एजेण्टबाट बुझाउन सकिन्छ बचतपत्र किन्ने आवेदन

तपाईको प्रतिक्रिया