खाेटाङमा तीन वर्षयता विदेश पठाइदिने बहानामा १ करोड रुपैयाँभन्दा बढी ठगी : ४६ युवा ठगिए

 माघ १६, २०८० मंगलबार १३:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाेटाङमा २०७७ सालयता वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगिएकाे भन्दै ४६ जना युवाले उजुरी दिएका छन् । याे अवधिमा एक कराेड रुपैयाँभन्दा बढी रकम ठगी भएकाे छ । 

वैदेशिक रोजगारमा पठाउने बहानामा ठगिएका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’ लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि अहिलेसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । 

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का खोटाङ संयोजक सन्तोष राईले  एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिनुभएको छ ।

'वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा २३ लाख ४० हजार पाँच सय रुपैयाँ ठगी भएको उल्लेख छ', उहाँले भन्नुभयो, 'विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएकाे र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा अहिलेसम्म म्यानपावर र एजेन्टबाट १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ ।'

चालु आवमा स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले एक लाख ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदाधाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेका छन् । 

वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने व्यक्ति प्राय जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट वञ्चित भएका स्रोत केन्द्रले जनाएको छ । वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिनुभयो । 

ठगीका नयाँ नयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । 'पछिल्लो समय नयाँनयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगारसम्बन्धी तथा विभिन्न बहानामा ठगीका घटना हुन थालेका छन् । ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौँ', उहाँले भन्नुभयो, 'घटना भइसकेपछि मात्र प्रहरीमा जानकारी आउँछ । पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेको छ । यसप्रति सचेत हुन आवश्यक छ ।'

खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारीका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०/८१ को पछिल्लो पाँच महिना (मङ्सिरसम्म) मा खोटाङबाट तीन हजार तीन सय ४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमा महिला तीन सय २२ रहेको श्रोत केन्द्रले जानकारी दिएको छ । दश पालिका रहेको खोटाङबाट गएकाे वर्ष नौ हजार आठ सय छ जना युवाले श्रम स्वीकृति लिएको पाइएको छ । यसमा आठ सय ३१ महिला छन् ।

तपाईको प्रतिक्रिया