६ महिनामै ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जान श्रम स्वीकृति लिनेहरू घटे

 माघ २३, २०८० मंगलबार १५:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामै सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार साउनदेखि पुससम्म रेमिट्यान्स २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । अघिल्लो वर्षको छ महिनाको तुलनामा यो वर्ष एक खर्ब ४८ अर्ब रुपैयाँ धेरै रेमिट्यान्स आएको छ ।

रेमिट्यान्स बढे पनि विदेश जान श्रम स्वीकृति लिनेहरूको सङ्ख्या भने घटेको देखिएको छ । पोहोरको छ महिना र अहिलेको छ महिना तुलना गर्दा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या ७४ हजार जनाले कमी भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका लागि दुई लाख सात हजार नाै सय ७० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३५ हजार चार ३५ जनाले पुनः श्रम स्वीकृति गरी तीन लाख ४३ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तर अघिल्लो वर्षको छ महिनामा चार लाख १८ हजार जनाले श्रम स्वीकृति लिएका थिए । यसरी विदेश जानेहरूको सङ्ख्या ७४ हजार जनाले घटे पनि रेमिट्यान्स भने बढेको हो ।

यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १३ अर्ब ६९ करोड पुगेको छ । यसले नेपाललाई साढे १४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अघिल्लो वर्षको छ महिनामा साढे ३५ अर्ब रुपैयाँले घाटामा रहोको चालु खाता अहिले एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । यसैगरी शोधानान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति जम्मा ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

तपाईको प्रतिक्रिया