नेभिगेशन

दाङमा गाडीको ठक्करबाट दुर्लभ वन्यजन्तु हुँडार मर्‍याे

दाङ – दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत फन भ्याली नजिकै दुर्लभ वन्यजन्तु हुँडार गाडीको ठक्करबाट मरेको छ ।

वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने हुँडार मरेकोले स्थानीयवासी, सुरक्षा निकाय तथा सरोकारवालालाई चिन्तित बनाएको छ ।

डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माका अनुसार मृत भाले हुँडारको लम्बाइ झन्डै ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ । यसकाे अनुमानित उमेर ८ देखि १० वर्षको बीचमा रहेको छ ।

विगतमा त्यति सक्रिय रूपमा नदेखिएको यो प्रजाति सडक क्षेत्रमा देखिनु र दुर्घटनामा पर्नु वन्यजन्तुको सुरक्षित बसोबासमा चुनौती बढेको सङ्केत भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

कार्यालयले प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहबरमा मृत हुँडारको शव व्यवस्थापन गरेको छ ।

वन अधिकारीका अनुसार यदि यस्ता घटनाहरू दोहोरिरहेमा दाङ जस्तो जैविक विविधताले भरिएको क्षेत्रमा जैविक सङ्कट निम्तिन सक्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति:
थप समाज