आमा नमस्कार, सञ्चै हुनुहुन्छ ?
अँ सञ्चै भन्नुपर्याे बाबु, अहिलेसम्म बाँचिएकै छ ।
मलाई चिन्नु भयो त !
अलि गाह्रो भयो बाबु । यही ठाउँको मान्छेलाई त चिन्थेँ, तर बाबु यो ठाउँको पर्नुभएन कि क्या हो ?
म पनि यही ठाउँकै मान्छे त हो नि आमा ।
यहीँको मान्छेलाई त म राम्रोसँग चिन्छु बाबु । तपाईँ को, कसको छोरा हो भन्नुस् त ।
अब कसको छोरा भनेर त झन् चिन्नुहुन्न आमा । नेता हो क्या म ।

ए नेता पो हुनुहुन्छ ? कुन चाहिँ नेता पर्नुभयो त बाबु चाहिँ । अहिले त नाच्ने पनि नेता, गाउने पनि नेता । फत्तौरे पनि नेता, मौन बसेका पनि नेता । पहिले चुनाव जितेर गाउँ फर्कँदै नफर्कने पनि नेता, शहर पसेर उतै रमाइरहने पनि नेता ।
अब त्यस्तैमध्ये कोही नेता भन्ने ठान्नुस् न आमा । तर म अरूभन्दा फरक खालको चाहिँ हो ।
कताकता टीभीतिर आक्कलझुक्कल देखेझैँ लाग्छ, अरू बेला यता गाउँमा देखिँदैन । पहिले टीभीतिर देख्दा त खानै नपाएको झैँ दुब्लो न दुब्लो पिलन्धरे हुनुहुन्थ्यो, अहिले खाँदा खाँदा धेरै भएर रातोपिरो हुनुभएछ, त ?
अरू बेला त यता गाउँ छ, तपाईँहरू हुनुहुन्छ भन्ने कुराको याद नै हुन्न नि आमा । यसो चुनाव आएको बेला झल्याँस्स गाउँको र तपाईँहरूको याद आउँछ । अनि आउनुपर्छ ।
अनि यसपालि चाहिँ अलि छिटै के कामले आउनुभयो त बाबु गाउँमा ?
यसपालि अलि छिटै चुनाव आयो क्या आमा । म पनि चुनावका उठेको छु नि आमा थाहा पाउनुभएको छैन ?
अँ उठिरहनुभएको रहेछ, बस्नुस् न त त्यो ढुङ्गामा, कतिबेर उठ्नुहुन्छ ।
अहँ बस्न हुन्न आमा, उठिरहनुपर्छ । बस्यो भने अर्कै उठ्ला भन्ने डर हुन्छ । हिजोआज सितिमिति बस्नै मन लाग्दैन आमा, उठिरहने हो ।
बाबुलाई बस्न मिल्दा पनि उठिरहनु हुँदोरहेछ । हामीलाई चाहिँ बस्ने मन हुँदा पनि उठिरहनुपर्छ । यी यसरी राति नै उठेर पानी लिन आउनुपर्छ । घाँसभकारो, खेतीपातीको काम पनि उठेरै गर्नुपर्छ । राति एकछिन सुत्ने हो, नत्र बस्नै पाइँदैन बाबु ।
अब तपाईँ उठ्ने हैन आमा, तपाईँको सट्टा यी म उठेको छु ।
मेरो सट्टा बाबु उठेर त के होला र ? मेरो सट्टा तपाईँ हिँड्नुहुन्न, मैलेजस्तो पानीपँधेरो र घाँसभकारो गर्नुहुन्न । तपाईँ तपाईँका लागि उठेको, म मेरै लागि ।
आमाले कुरा बुझ्नुभएन । म यसपालि पनि चुनावमा उठेको छु क्या । भोट माग्न आएको तपाईँसँग । फेरि चुनाव आयो भनेर त थाहा पाउनुभयो होला नि ?
खै रेडियोले त चुनाव, टिकट, उम्मेदवार के के भन्थ्यो । हामीलाई हाम्रै दुःख छ । अस्ति दशैँमा छोराबुहारी गाउँ आएका थिए । फर्कने बेलामा बसको टिकट नपाएर गाह्रो भएछ ।
टिकट पाउन कहाँ सजिलो हुन्छ र आमा । बसको टिकट होस् या चुनावको टिकट । हामीले पनि बल्लबल्ल फुत्काएको ।
ए अनि बाबुको पार्टी नयाँ पर्याे कि पुरानो हो त ?
अस्तिसम्म पुरानाकोमा थिएँ आमा । अन्तिमसम्म टिकट पाइएला भन्ने आशा थियो । तर मेरो भन्दा अर्कैले चाकडी गरेछ, पार्टीले फ्याट्ट उसलाई टिकट दियो । त्यसपछि त्यो पार्टी छोडिदिएँ आमा । अस्ति मात्र हतारहतार नयाँ पार्टीमा प्रवेश गरेर टिकट फुत्काएको ।
ए...त्यस्तो दुःख पनि गर्नुपर्छ है बाबु ?
धेरैथोक गर्नुपर्छ आमा कहाँ सजिलो छ र ? पहिलेको ठाउँमा जितिँदैन जस्तो लाग्यो भने अर्कै सजिलो ठाउँ खोजेर पनि दगुर्नुपर्छ । विचार मिल्नेसँग मिलेन भने विचार नमिल्नेसँग पनि मिल्नैपर्छ । हिजोसम्म सँगै अँगालो मारेर बसेकोलाई लात्ताले हिर्काएर हिजो आफूलाई लात्तो हान्नेसँग पनि अँगालो मार्नुपर्छ । हिजोसम्म त्यो जस्तो काम नलाग्ने कोही छैन भनेर गाली गरेकालाई अहिले यो जस्तो काम लाग्ने त अरू कोही छैन भनेर ताली पनि पिट्नुपर्छ । पहिले बेठीक लागेको कुरा अहिले ठीक छ भन्नुपर्छ, पहिले ठीक लागेको कुरा अहिले बेठीक छ भन्नुपर्छ ।
ओहो ! बाबु के के मात्रै गर्नुपर्ने रहेछ है, कुरा बुझ्नै गाह्रो । बाबुहरूलाई पनि गाह्रो छ ।
गाह्रो छ नि आमा धेरै गाह्रो छ । यति गाह्रो गरेर यहाँसम्म आइपुगेको छ, भोट दिनुपर्छ है आमा ।
भोट त पहिले पनि दिएकै हो नि बाबु । त्यो भोट पाएर पनि खै के गर्नुभयो त ?
धेरैथोक गर्न लागेको थिएँ आमा । मलाई भोट दिने सबैलाई अमेरिका घुमाउन लान्छु भनेर सोच बनाउँदा बनाउँदै त्यही बेला फ्याट्ट कोरोना आयो । गाडी, जहाज सबै बन्द भयो । कोरोना सकिएपछि लैजान्छु भन्दाभन्दै डेङ्गी आयो, बाहिर निस्कँदा लामखुट्टेको डर हुने भयो । लामखुट्टे नपाइने देश फ्रान्सतिर लैजाने योजना बनाउँदै थिएँ, फेरि आन्दोलन भयो । गर्न खोज्दाखोज्दै षड्यन्त्र भयो आमा । कहिले कोरोनाले षड्यन्त्र गर्याे, कहिले लामखुट्टेले, कहिले आन्दोलनले । कहिले विपक्षीहरूले खेदो खने । अब चाहिँ मैले चुनाव जित्नेबित्तिकै सबैलाई घुमाउने हो । बरु आमालाई कहाँ जाने मन छ भन्नुहोस् ।
हामीलाई त कहीँ जान पनि मन छैन बाबु । यही पँधेरो पनि टाढा भयो । घरमा धारा मात्रै छ पानी आउँदैन । बिरामी हुँदा उपचार पाइँदैन । गाउँमा स्वास्थ्य चौकी छ, डाक्टर छैनन् । माथि डाँडापाखासम्म मोटरबाटो पुगेका छन्, तर मोटर गुड्न मुश्किल पर्छ । बाबुहरूलाई जस्तो हामीलाई सरकारी पैसामा घुम्न परेको छैन बाबु । गाउँमै सेवासुविधा भैदिए पुग्छ ।
धारो, अस्पताल, डाक्टर, गाडीको मात्रै के कुरा भयो र आमा । तपाईँ भन्नुस् मात्रै, यही पँधेरो तपाईँको चुल्होमा पुर्याइदिन्छु । घरमै डाक्टर र नर्सको लाइन लगाइदिन्छु । गाडीको के कुरा तपाईँको घर पछिल्तिरको बारीबाट रेल चलाइदिन्छु । अरूले पहिले भने मात्रै, तर गर्ने चाहिँ हामी मात्रै हो ।
घरसम्म रेल, जहाज लैजान परेको छैन बाबु । बरु अहिलेलाई यो पानीको गाग्रो घरसम्म पुर्याइदेऊ न ।
ओहो ! आमा पानीको गाग्रो पुर्याउने कुरा त मेरो घोषणापत्रमा छैन । तै भनिहाल्नुभयो । अरू उम्मेदवारले उखु काट्न, भारी बोक्न सघाएको देखेको थिएँ । ल है साथी हो एउटा फोटो खिचौँ त, मैले पनि आमाको गाग्री बोकेर सघाइदिनुपर्याे ।
बिस्तारै है बाबु बिस्तारै ।
ऐया....ल लडिहालियो नि आमा । कस्तो गह्रौँ गाग्रो । उठेको मान्छेलाई लडाइदिनुभयो । अहिल्यै यहीँ लडियो, फागुनमा के पो होला !