नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

बङ्गलादेशको चुनावी परिणामले दिएको सन्देश

बङ्गलादेशको राजनीति लामो समयदेखि दुई प्रमुख दलको प्रतिस्पर्धामा केन्द्रित रहँदै आएको छ । एकातिर शेख हसिना नेतृत्वको अवामी लिग जो अहिले भारतमा छिन् र अर्कोतिर खालिदा जियाको बङ्गलादेश  नेशनलिस्ट पार्टी (बीएनपी) जसको केही समयअघि निधन भइसकेको छ । दशकौँदेखि यी दुईबीच प्रतिस्पर्धा चलिरहेको थियो । यी दुई नेतृबीचको सम्बन्ध राजनीतिक प्रतिस्पर्धाभन्दा पनि व्यक्तिगत कटुतासम्म पुगेको अवस्था थियो । सत्ताको पालो फेरिँदै गर्दा दुवै पक्षले शासनको अनुभव बटुलेका थिए । यस्तो अवस्थामा कुनै एक दलमाथि प्रतिबन्ध लागेपछि अर्को दल स्वतः अघि आउनु स्वाभाविक राजनीतिक प्रक्रिया नै हो । तर यसलाई केवल जनलहर वा क्षणिक लोकप्रियताको परिणामका रूपमा बुझ्नु अपूरो विश्लेषण हुनेछ ।

बङ्गलादेश र नेपालको निर्वाचन प्रणाली, राजनीतिक इतिहास र सामाजिक संरचना फरक छन् । त्यसैले एक देशको अनुभवलाई अर्को देशसँग जस्ताको तस्तै तुलना गर्नु उपयुक्त हुँदैन । चुनाव केवल भिडको आकारले तय हुँदैन । आन्दोलनमा देखिएको जनसहभागिता र मतदान केन्द्रमा खसेको मतबीच सधैँ प्रत्यक्ष सम्बन्ध नहुन सक्छ । भिड रमाइलो, उत्साह वा क्षणिक भावनाले आकर्षित हुन सक्छ; तर मतदाता मतदान गर्दा प्रायः स्थायित्व, विश्वसनीयता र स्पष्ट एजेन्डालाई प्राथमिकता दिन्छन् ।

नेपालको सन्दर्भमा पनि नवयुवा आन्दोलनका क्रममा ठूलो जनसमर्थन देखिएको थियो । तर आन्दोलनमा सँगै हिँडेका सबै समूह र व्यक्तिहरू चुनावी राजनीतिमा एउटै धारमा उभिन सक्ने अवस्था देखिँदैन । आन्दोलनको ऊर्जा र चुनावी परिणाम दुई फरक चरण हुन् । आन्दोलनले चेतना जगाउँछ, प्रश्न उठाउँछ र दबाब सिर्जना गर्छ । तर चुनावले वैधानिक संरचना स्थापना गर्छ । त्यसैले भिड देखेर मात्र चुनावी परिणाम आफ्नो पक्षमा आउँछ भन्ने निष्कर्ष निकाल्नु जोखिमपूर्ण हुन्छ ।

अहिलेको अर्को महत्त्वपूर्ण पक्ष भनेको सञ्चार माध्यम र सामाजिक सञ्जालको भूमिकामा आएको परिवर्तन हो । कतिपय अवस्थामा सञ्चारमाध्यम स्वयम् चुनावी प्रक्रियाको सक्रिय पात्रजस्तै देखिन्छ । पुरानो र नयाँ पार्टी भन्ने भाष्य पनि सतही हुन सक्छ । पुराना पार्टीभित्र नयाँ अनुहार छन् र नयाँ भनिएका दलभित्र पनि अनुभवी तथा पुराना अनुहार समावेश छन् । त्यसैले राजनीतिक दललाई केवल उमेर वा स्थापनाको समयका आधारमा वर्गीकरण गर्नु यथार्थपरक हुँदैन । वास्तवमा राजनीतिक दल दुई प्रकारका हुन्छन् । एक, विचार, सङ्गठन र अनुभवबाट चिनिने; र अर्को, लोकप्रियता र चर्चाबाट चिनिने । देश विकास, आर्थिक समृद्धि र 

दीर्घकालीन स्थायित्वका लागि स्पष्ट नीति, रणनीति र संस्थागत क्षमताको आवश्यकता हुन्छ । लोकप्रियताले मानिसलाई चर्चित बनाउन सक्छ, तर राष्ट्र सञ्चालनका लागि विचार, धैर्य, अनुभव र व्यवस्थापन कौशल अपरिहार्य हुन्छ ।

नवयुवा आन्दोलनले के चाहेको थियो भन्ने प्रश्न पनि गम्भीर छ । के त्यो आन्दोलन केवल चुनावको मागका लागि थियो ? प्रतिनिधिसभा विघटनको लागि थियो ? वा व्यापक संरचनात्मक सुधारका लागि ? यदि आन्दोलनकारी शक्तिहरूले स्थापित राजनीतिक दलसँग संवाद गरेर, साझा एजेन्डा तय गरेर चुनावमा प्रवेश गरेका भए सम्भवतः राजनीतिक दिशामा फरक परिणाम देखिन सक्थ्यो ।

अहिले अवस्था यस्तो छ कि चुनावले नै नयाँ समीकरण तय गर्नेछ । चुनाव आफैंमा अन्तिम समाधान होइन । यसले समस्या समाधान गर्दैन, तर समस्या समाधान गर्न सक्ने वैधानिक निकाय निर्माण गर्छ । चुनावी परिणामले सरकार गठन हुन्छ, संसद् बन्छ, र नीति निर्माणको प्रक्रिया अघि बढ्छ । त्यसपछि ती निकायले जनअपेक्षा सम्बोधन गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा उनीहरूको क्षमता र इच्छाशक्तिमा निर्भर रहन्छ । त्यसैले चुनावलाई सबै समस्याको चाबीका रूपमा हेर्नु उचित होइन, तर लोकतान्त्रिक प्रक्रियाको अनिवार्य चरणका रूपमा स्वीकार गर्नुपर्छ ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको विशेषज्ञता र राजनीतिक क्षमता बीचको अन्तर हो । कुनै व्यक्ति आफ्नो पेशागत क्षेत्रमा अत्यन्त सफल वा चर्चित हुन सक्छ– इन्जिनियर, चिकित्सक, कलाकार वा सामाजिक अभियन्ता । तर त्यो सफलताले स्वचालित रूपमा उसलाई सफल राजनीतिज्ञ बनाउँदैन । राजनीति आफैंमा एउटा विशिष्ट ज्ञान, अनुभव र रणनीतिक सोच माग्ने क्षेत्र हो । विचारको स्पष्टता, सहमति निर्माण गर्ने क्षमता, दीर्घकालीन दृष्टि र सङ्कट व्यवस्थापन गर्ने दक्षता राजनीतिक नेतृत्वका आधारभूत गुण हुन् ।

चुनावअघि चर्चामा आएका व्यक्ति चुनावपछि हराउन सक्छन् र कतिपय व्यक्ति चुनावपछि नै चर्चामा आउँछन् । परिणामले व्यक्तित्वको प्रभाव र जनविश्वासलाई नयाँ रूप दिन्छ । त्यसैले क्षणिक लोकप्रियताले स्थायी राजनीतिक प्रभावको ग्यारेन्टी गर्दैन ।

लोकतान्त्रिक व्यवस्थाको भौतिक र संस्थागत आधारमाथि आक्रमण भएको अवस्थामा हुने चुनावले विशेष अर्थ राख्छ । संविधान बाहिरको हस्तक्षेपपछि संविधानलाई पुनःस्थापित गर्न वा वैधानिकता पुनःस्थापना गर्न गरिने चुनाव संक्रमणकालीन मोड हुन सक्छ । यस्तो अवस्थामा मतदाताले भावनाभन्दा पनि विवेक र दूरदृष्टिलाई प्राथमिकता दिन आवश्यक हुन्छ ।

पुरानो र नयाँ भन्ने सतही विमर्शभन्दा पनि विचार, सङ्गठन, अनुभव र स्पष्ट विकास–मार्गलाई आधार बनाएर मूल्याङ्कन गर्नुपर्ने समय आएको छ । देश सञ्चालन केवल नाराले हुँदैन, केवल लोकप्रियताले हुँदैन र केवल भिडले पनि हुँदैन । देश चलाउनका लागि संस्थागत क्षमता, नीति–सुसंगतता र उत्तरदायित्व आवश्यक हुन्छ ।त्यसैले नवयुवा आन्दोलन, पुराना दल, नयाँ दल, चर्चित अनुहार वा स्थापित नेतृत्व–सबैलाई 

एउटै लोकतान्त्रिक कसौटीमा राखेर मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ । चुनाव परिणामले समाधान होइन, सम्भावना दिन्छ । त्यस सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने कुरा राजनीतिक नेतृत्व र मतदाताको परिपक्वतामा निर्भर रहनेछ ।

(संविधानविद् निलाम्बर आचार्यसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विशेष