अरू बेला आरोप–प्रत्यारोपमा अल्झिए पनि एकै ठाउँमा भेट हुँदा दलका शीर्ष नेताहरू संविधान, लोकतन्त्र र विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँछन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा पनि नेताहरूले यही राजनीतिक संस्कारलाई निरन्तरता दिए । फरक राजनीतिक विचार र प्रतिस्पर्धाका बाबजुद लोकतन्त्र, संविधान, राष्ट्रियता र जलवायु परिवर्तनका मुद्दामा साझा प्रतिबद्धता जनाए । कांग्रेससँगै विपक्षीको हारमा रहेका नेताहरूले मात्रै होइन, फरक किनारामा फड्को मारेका रास्वपा सभापति रवि लामिछानेलेसमेत राजनीतिक कटुता घटाएर संवादको ढोका खोल्न सकिन्छ भन्ने सन्देश दिए । रविको भाषण कांग्रेससहितका अरू दलहरूलाई रिझाउने खालको थियो ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै गर्दा कांग्रेस सभापति गगन थापाले अरू प्रसङ्गसँगै प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाए । खुलामञ्चमा भाषण गरेर गगन फर्किएलगत्तै राति प्रधानमन्त्री बालेन शाहले फेसबुकमा बिझाउने स्टाटस लेखे, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’
प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको यो टिप्पणी आफैँमा गैरराजनीतिक, गैरजिम्मेवार र बिझाउने खालको छ । यसले एउटा गम्भीर प्रश्न पनि जन्माएको छ - खुलामञ्च कसले बनायो भन्ने कुराले बढी महत्त्व राख्छ कि त्यहाँ उठेका प्रश्नको जवाफ कसले कसरी दिन्छ भन्ने कुराले ?
बालेनको तर्कलाई नै अलि परसम्म तन्काएर हेरौँ न ! प्रचण्डहरूले, बाबुराम भट्टराईहरूले, केपी ओलीहरूले, शेरबहादुर देउवाहरूले, गगन थापाहरूले हामीले ल्याएको व्यवस्थामा प्रधानमन्त्री भएका हौ, हाम्रो सङ्घर्षले बनाएको लोकतन्त्रमा बसेर हामीलाई नै प्रश्न गर्छाै भनेर भन्न थाले भने के हुन्छ ? विद्यार्थी आन्दोलनका नेता, सशस्त्रयुद्ध र जनआन्दोलनका अगुवाहरूले हामीले लडेर ल्याएको व्यवस्थामा बसेर बोलिरहेका छौ भनेर हिसाब माग्न थाले भने के हुन्छ ? पुराना नेताहरूले हामीले ल्याइदिएको लोकतन्त्र भएकैले तिमीहरूले टिप्पणी गर्न पाएका हौ, हामीले बनाएको व्यवस्थामा बसेर हामीलाई नै गाली गर्ने भनेर जवाफ फर्काउन थाले भने के हुन्छ ?
अझ, हामीले बनाइदिएको बाटोमा गाडी गुडायौ भनेर कसैले भन्न थाल्यो भने ? राजाहरूले हामीले बनाइदिएको विमानस्थलबाट अमेरिका गएर आयौ भनेर सम्झाउन थाले भने ?
हिजोका शासकहरूले बनाएका संरचनामा बसेर आजका शासकहरूले शासन गरिरहेका छन् भन्दैमा ती संरचना र व्यवस्थामाथि उनीहरूको आजीवन एकाधिकार लाग्छ ? अवश्य लाग्दैन ।
राजनीतिमा योगदानको सम्मान हुनुपर्छ, तर योगदानको नाममा नागरिकको मुख थुन्न पाइँदैन । लोकतन्त्र कसैले व्यक्तिगत सम्पत्तिका रूपमा बनाइदिएको उपहार होइन । यो सङ्घर्ष, बलिदान, नागरिकको आकाङ्क्षा र संस्थागत अभ्यासबाट जोगाइराख्नुपर्ने व्यवस्था हो ।
हो, खुलामञ्च बनाउने वा सुधार्ने व्यक्तिको योगदानको सम्मान गर्नुपर्छ । तर त्यसको प्रयोग गरेर कसैले सरकारको आलोचना गर्याे भन्दैमा निर्माणकर्ताले अपमानित भएको अनुभव गर्नु हीनताबोधको लक्षण हो । फेरि खुलामञ्च बालेनले बनाएका होइनन्, संरक्षणमा योगदान गरेका हुन् । तर बालेनले संरक्षण गरेको भन्दैमा खुलामञ्च उनको निजी बैठक कोठा होइन । त्यसको उपयोग सार्वजनिक हितका लागि हुन्छ, आलोचना र बहस पनि त्यही सार्वजनिक जीवनका हिस्सा हुन् ।
खुलामञ्चको प्रयोग गर्नु भनेको बालेनको राजनीतिक आलोचना गर्न नपाइने शर्त स्वीकार गर्नु होइन । कसैले बनाएको या संरक्षण गरेको मञ्चमा उभिएर उसैलाई प्रश्न गर्न पाइँदैन भने त्यो सार्वजनिक मञ्चको अर्थ के रह्यो ? मञ्च राम्रो बनाउनेले प्रश्न सुन्ने धैर्य पनि देखाउनुपर्छ । निर्माणको श्रेय लिन खोज्नेले आलोचना सहने क्षमता पनि राख्नुपर्छ ।
प्रधानमन्त्रीले गगन थापाको भनाइसँग असहमति राख्न पाउँछन् । संसद्मा आफ्नो अनुपस्थितिबारे स्पष्टीकरण दिन सक्छन् । कांग्रेसको आलोचनाको राजनीतिक जवाफ दिन सक्छन् । तर खुलामञ्च राम्रो बनाइएको भन्दै व्यङ्ग्य गर्नुले संसद्मा प्रधानमन्त्रीको उपस्थितिबारे उठेको प्रश्नको उत्तर दिँदैन । बरु मूल प्रश्नलाई विषयान्तर गरेर प्रधानमन्त्रीको जिम्मेवारीमाथि थप बहस निम्त्याउँछ ।
सत्तारूढ रास्वपाका सभापति रवि अरू दलसँग संवाद र सम्बन्ध सुधारेर राजनीतिक सहकार्यको सम्भावना खोज्दैछन् । तर सत्ताको बागडोरमा रहेका प्रधानमन्त्री अरू दललाई चिढ्याएर झन्झन् टाढा बन्दैछन् । पार्टी सभापतिले मिलाउन खोज्ने, प्रधानमन्त्रीले चिढ्याउने हो भने राजनीतिक सन्देश कसरी एउटै हुन्छ ? नयाँ शक्तिले पुराना दलहरूसँग प्रतिस्पर्धा गर्न सक्छ, तर हरेक असहमतिलाई व्यक्तिगत कटाक्षमा बदल्दै गयो भने उसले परिवर्तनको विकल्प होइन, अर्को अहङ्कारको नमूना प्रस्तुत गर्ने जोखिम हुन्छ ।
प्रश्न प्रधानमन्त्रीको एउटा फेसबुक स्टाटसको मात्र होइन, नयाँ राजनीतिक शक्तिले बोकेको संस्कार र जिम्मेवारीको पनि हो । प्रधानमन्त्रीको पदमा बसेपछि व्यक्तिगत रिस, आवेग र सामाजिक सञ्जालको व्यङ्ग्यभन्दा माथि उठ्न सक्नुपर्छ । प्रधानमन्त्रीको एउटा वाक्यले सरकारको संस्कार झल्काउँछ । उनको मौनताले प्रश्न जन्माउन सक्छ, तर हल्का टिप्पणीले पदको गरिमा नै कमजोर बनाउन सक्छ । बेलाबेला रातमा निम्नस्तरको फेसबुक स्टाटस लेख्ने बेला प्रधानमन्त्रीले आफ्नो पदीय गरिमाको कत्तिको ख्याल गर्दा हुन् कुन्नि ?