दशैँ मनाउन गएको नाति खाटमा बसेर मोबाइलमै घोप्टिरहेको छ । त्यहीबेला बत्ती गयो । नातिको मोबाइलमा टिकटक रोकियो । फेसबुकको भित्तो अँध्यारो भयो । अनलाइन खेलको मैदानमा ताला लाग्यो । वाइफाइलाई पनि दशैँ लागेपछि मोबाइल दुनियाँ सम्पर्कविच्छेद भयो । मोबाइल हातमा लिएर यताउता घुमिरहेको नाति अन्ततः हजुरबाको छेउमा आएर बस्यो । हजुरबा आँगनमा बसेर पुरानो दशैँ सम्झँदै थिए ।
‘हजुरबा, दशैँ भनेको के हो ?’ नातिले सोध्यो ।
हजुरबा झसङ्ग भए । ‘किन र ? दशैँ भनेको दशैँ हो नि बाबु !’
‘त्यो त थाहा छ । तर दशैँमा के हुन्छ ?’
हजुरबा मुसुक्क हाँसे । ‘हाम्रो पालामा दशैँ भनेको वर्षभरि कुरेर बस्ने चाड थियो । मीठो मसिनो खान दशैँ कुर्नुपर्थ्यो । नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्थ्यो । दशैँकै बेलामा खेतबारीको कामबाट अलिकति फुर्सद पाइन्थ्यो । घर आँगन सफा गरिन्थ्यो, बाटोघाटो र चौतारी सिँगारिन्थ्यो । लिंगे र राहोटे पिङ हाल्ने चटारो हुन्थ्यो । पिङ हालेपछि केटाकेटीको खुशीको सीमा हुँदैनथ्यो । आफन्त आउँथे, छिमेकी भेला हुन्थे, हाँसो ठट्टा चल्थ्यो । दशैँ आउँदा गाउँ नै जाग्थ्यो बाबु ।’
नातिले कुरा बीचमै काट्यो, ‘अनि त्यति दुःख गरेर पिङ किन हाल्नुपर्थ्यो हजुरबा ? मोबाइलमा सयवटा पिङ खेल्ने गेम छन् । लुगा किन्न दशैँ नै किन कुर्नुपर्थ्यो ? अनलाइनमा अर्डर गरे भोलिपल्टै आउँछ । मासु खान पनि दशैँ कुर्नुपर्दैन । गाउँभरि बाटो सफा गरेर के गर्नु ? म त घरबाट ननिस्के पनि संसार घुमिरहेको छु ।’
हजुरबाले चस्मा मिलाए । ‘संसार घुमिरहेको छस् कि औँला घुमाइरहेको छस् बाबु ?’
नातिले हाँस्दै भन्यो, ‘हजुरबालाई के थाहा ! मोबाइलमा संसार छ । आफन्तसँग भिडियो कल हुन्छ । साथीहरूसँग च्याट हुन्छ । फोटो हेर्न पाइन्छ । रमाइलो गर्न पाइन्छ । पिङमा चढेर लड्ने जोखिम पनि छैन ।’
‘अनि आफन्तसँग भेटेर अँगालो हाल्ने ?’
‘इमोजी छ नि !’
‘छिमेकीसँग बसेर भलाकुसारी गर्ने ?’
‘ग्रुप च्याट छ ।’
‘गाउँको बाटोमा हिँड्दै साथी भेट्ने ?’
‘लोकेसन शेयर गरे भइहाल्यो नि ।’
हजुरबा केहीबेर चुप लागे । नातिले आधुनिक प्रविधिमा आफूलाई विश्व विजेता ठानेको थियो ।
हजुरबाले फेरि सोधे, ‘ल, बाबु, दशैँमा घर आएको कति दिन भयो ?’
‘तीन दिन ।’
‘गाउँका कति जना पुराना साथी भेटिस् ?’
‘भेटेको छैन ।’
‘पिङ खेलिस् ?’
‘पिङ नै छैन ।’
‘अनि दशैँ मनाइरहेको छस् कि दशैँको बिदामा मोबाइल चलाइरहेको छस् ?’
नाति केहीबेर अलमलियो । अनि भन्यो, ‘हजुरबा, समय बदलियो नि ! पहिले अभाव थियो, त्यसैले दशैँ विशेष थियो । अहिले सबै कुरा सजिलै पाइन्छ । नयाँ लुगा लगाउन दशैँ कुर्नु पर्दैन । मीठो मसिनो खान दशैँ कुर्नुपर्दैन । त्यसैले दशैँ सामान्य भइसक्यो, द्याट सिम्पल !’
‘हो बाबु, सुविधा बढेको छ । तर खुशी बढेको छ कि छैन ? पहिले एउटा नयाँ कमिज लगाउँदा वर्षभरि सम्झना रहन्थ्यो । अहिले दराज लुगाले भरिएको छ, तर लगाउने लुगा छैन भन्दै मान्छे बजार दौडिन्छ । पहिले एक थाल मासुमा परिवार रमाउँथ्यो, अहिले टेबलभरि परिकार छन्, तर खाने मान्छे मोबाइलमा व्यस्त छन् ।’
नातिले मोबाइलको कालो स्क्रिन हेर्दै भन्यो, ‘त्यसो भए पहिलेको दशैँ नै राम्रो रहेछ हजुरबा ?’
हजुरबा हाँसे । ‘त्यो पनि होइन । पहिले अभाव थियो, दुःख थियो, कतिपयले दशैँमा पनि पेटभरि खान पाउँदैनथे । अहिले सुविधा छ, प्रविधि छ, रोजाइ छ । तर बाबु, सुविधा थपिँदैमा सम्बन्ध घट्नुपर्छ भन्ने कहाँ लेखेको छ ? मोबाइलले टाढाको मान्छे नजिक ल्याओस्, नजिकको मान्छेलाई टाढा नबनाओस् ।’
यत्तिकैमा बत्ती आयो । नातिको मोबाइलमा वाइफाइको लिंगो ठडियो । फेसबुकका सूचना, टिकटकका भिडियो र साथीका सन्देश एकैपटक ओइरिए ।
नाति उठ्यो । हजुरबाले सोधे, ‘कता बाबु ?’
‘मोबाइल चार्ज गर्न ।’
‘ए, गर गर । चार्ज मोबाइललाई गर, तर कहिलेकाहीँ सम्बन्धलाई पनि चार्ज गर है ! नत्र मोबाइलको ब्याट्री सय प्रतिशत होला, दशैँको खुसी चाहिँ एक प्रतिशतमा झर्ला ।’
नाति हाँस्यो । मोबाइल चार्जमा जोड्यो र फेरि हजुरबाको छेउमै बस्यो ।
‘हजुरबा, अनि यो दशैँमा हामी पिङ हालौँ न !’
हजुरबाको अनुहारमा एकाएक चमक आयो । ‘लौ, बल्ल दशैँको नेटवर्क भेटिएछ !’
बाहिर गाउँ सुनसान थियो । तर हजुरबा र नातिबीच एउटा पुरानो सम्बन्ध फेरि अनलाइन भएको थियो – बिनावाइफाइ, बिनापासवर्ड, बिनाडाटा ।
प्रश्न अझै बाँकी छ – दशैँ पहिलेको राम्रो कि अहिलेको ? सायद उत्तर समयसँग होइन, हामीले दशैँमा के खोज्छौँ भन्नेसँग जोडिएको छ । पहिले अभावबीच खुशी खोजिन्थ्यो, अहिले सुविधाबीच सम्बन्ध खोज्नुपर्ने भएको छ । चाड त उही हो, तर मनाउने तरिका खोज्ने बेला चाहिँ शुरु भयो कि !