नेभिगेशन
आइतबार, असोज १८, २०८३
गाँठका कुरा–अन्तिम शृङ्खला

अनावश्यक खर्च नगरी पैसा जोगाउने र बढाउने उपाय

गाँठ कमाउने कुरा गर्‍यौँ । कमाएको गाँठ जोगाउने कुरा पनि गर्‍यौँ । जोगाएको गाँठलाई कसरी बढाउने भन्ने पनि बुझ्यौँ । अब गाँठका कुराको अन्तिम श्रृङखलामा एउटा अलि फरक कुरा गरौँ, गाँठ कमाउनेभन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नु हुन्छ ।

हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ । तर पैसा हातमा परेपछि एउटा समस्या शुरु हुन्छ-चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकताभन्दा रहर ठूलो हुन थाल्छ ।

मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो - किनिहालौँ । घरमा खाना छ, साथीले बाहिर जाऔँ भन्यो - खाइहालौँ । पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो - ऋण निकालेर किनिहालौँ ।

एउटा–एउटा खर्च सानो लाग्छ । तर यस्तै साना खर्च जोडिँदै जाँदा महिनाको अन्त्यमा खल्ती रित्तै । अनि आफैँले आफैँलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ ?

त्यसैले पैसा जोगाउने पहिलो उपाय हो-आवश्यकता र चाहनाबीचको फरक बुझ्नु । अर्को महत्त्वपूर्ण कुरा हो, अनावश्यक ऋण नलिने । ऋण आफैँ खराब होइन । घर, शिक्षा, व्यवसायजस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ । तर देखासिकी, विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आम्दानी आजै खर्च हुन्छ भन्ने त तपाईँलाई पनि थाहा नै छ ।

मानौँ, मासिक आम्दानी ५० हजार छ । तर किस्ता र क्रेडिट कार्डको भुक्तानीमै २० हजार जान थाल्यो भने बाँकी जीवन कति सहज होला ?

ऋण लिँदा पैसा मात्र होइन, भविष्यको कमाइ पनि अगाडि नै खर्च भइरहेको हुन्छ । त्यसैले ऋण लिनुअघि तीन प्रश्न सोधौँ-यो आवश्यक हो ? यसको किस्ता तिर्न मेरो नियमित आम्दानी पर्याप्त छ ? अनि आपत् पर्‍यो भने पनि यो ऋण तिर्न सक्छु ? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो ।

पैसा कमाउने दौडमा सम्बन्ध गुमायौँ भने त्यो कमाइको अर्थ पनि कमजोर हुन्छ । साथीलाई पैसा सापटी दिनुपरे स्पष्ट कुरा गरौँ । परिवारमा आम्दानी र खर्चबारे सल्लाह गरेर योजना बनाऔँ । कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गरौँ । समयमा तिरेको सानो ऋणले विश्वास बढाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ ।

त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो । कमाइको केही हिस्सा बचत गरौँ । केही आवश्यक खर्चका लागि छुट्याऔँ । केही भविष्यका लागि लगानी गरौँ । अनि आफ्नो क्षमता र आम्दानीभन्दा माथिको जीवनशैली नबनाऔँ ।

किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन ।महँगो मोबाइल, ठूलो गाडी र ठूलो घर देख्नेले तपाईँलाई धनी देख्छ । तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरीच बनाउँछ । सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरिब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ ।

अन्ततः गाँठको कुरा केवल पैसा र कमाइको कुरा मात्रै होइन । गाँठसित गाँसिएको गाँठी कुरा हो, गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति ! किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य, सुख र शान्तिका लागि चाहिने हो । त्यसैले, गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौँ ।

यो पनि पढ्नुहोस्
यो पनि पढ्नुहोस्

प्रकाशित मिति:
थप विशेष