बुढा मान्छे घरको पिँढीमा बसिरहेका छन् । हातमा पुरानो मोबाइल, आँखामा देशको भविष्य, अनि मुहारमा हल्का मुस्कान । मोबाइलमा हुने/नहुने, चाहिने/नचाहिने थरीथरीका भिडियो देखिन्छ । कोही एआई भन्छन्, कोही ए है भन्छन् ।
मोबाइल खोलेर हेर्नेबित्तिकै पहिलो भिडियो देखियो, पूर्वराजा ज्ञानेन्द्रको पछिल्तिर मान्छेको भीड ।
अर्को भिडियो देखियो, बालेन्द्र शाहको पछिल्तिर पनि उस्तै भीड ।
अर्को भिडियोमा केपी ओलीको पछिल्तिर पनि मान्छेको भीड ।
फेरि गगन थापाको पछिल्तिर पनि भीड । रवि लामिछानेको पछिल्तिर पनि उत्तिकै भीड । ऋषि धमलालाई हेर्न पनि उस्तै भीड । जो माला भिरेर अघि हिँड्छ, उसकै पछिल्तिर मान्छेको भीड ।

बुढा बा मुसुक्क हाँसे, ‘यो देशमा नेता कम होलान्, तर भीडको उत्पादन त धान जस्तै बम्पर रहेछ !’
उनले गाउँकै एउटा दृष्टान्त सम्झिए । एक पटक खेतमा बाली राम्रो भयो भनेर सबै छिमेकी हेर्न गए । अर्को वर्ष त्यही खेत बाँझै रह्यो, तर हेर्न जानेको सङ्ख्या उस्तै ।
‘हामी हेर्न जाने प्राणी हौँ, काम गर्न जाने प्राणी होइनौँ कि क्या हो ?’ उनले आफैँलाई प्रश्न गरे ।
अनि फेरि मोबाइलमै घोरिन थाले । तरकारी बजारमा भीड । मेला महोत्सवमा भीड । भिसा सेन्टरमा भीड । एअरपोर्टमा भीड—विदेश जानेको पनि भीड, देश फर्कनेको पनि भीड । शिवरात्रिको दिन बिहानैदेखि पशुपतिनाथमा झन् धेरै भीड ।
नेताहरूले भीड देखाएर चुनावी परिणामको लेखाजोखा गरेको उनले सम्झिए, ‘यदि भीडले नै जिताउँथ्यो भने पशुपतिनाथले हरेक वर्ष कम्तीमा चार, पाँचपटक प्रधानमन्त्री खाइसक्नुपर्थ्याे !’
उनी फेरि सोच्न थाल्छन्, ‘हामीलाई भीड देख्न पाए पुग्छ । कसको पछि को छ भन्नेभन्दा पनि कति जना छन् भन्ने नै ठूलो कुरा । जसको पछि धेरै मान्छे, ऊ नै ठीक ।’
चुनाव आउँछ । नेता गाउँ पस्छन् । पिँढीमै बसेका उनी जस्ता मान्छेलाई भेट्छन् । हात जोड्छन् । काम सघाएझैँ गर्छन् । खुट्टामै लम्पसार परेर ढोक्छन् । अब पहिलेजस्तो हुन्न भनेर कसम खान्छन् । म त अर्कोजस्तो होइन नि भनेर फूर्ति लाउँछन् । दुःखका दिन गए भनेर धाप मार्छन् । बाटोघाटो, सडक, पुल, रेल, पानीजहाज, सुख, समृद्धि सबैथोक ल्याउँछौँ भनेर आश्वासन बाँड्छन् । कोही बोलेर थाक्दैनन् । कोही बोल्नै खोज्दैनन् । तै पनि सबैको पछिल्तिर उस्तै भीड ।
बूढा बालाई फेरि एउटा घटनाको याद आउँछ । गाउँमा एक जना जादुगर आएको थियो । उसको जादु हेर्न पनि उसैगरी भीड लाग्यो । जादुगरले टोपीबाट परेवा निकाल्यो । सबैले ताली बजाए । जादुगरले पैसा उठाएर गयो । भोलिपल्ट गाउँलेले थाहा पाए, परेवा त आफ्नै खोरबाट हराएको रहेछ !
‘हाम्रो राजनीति पनि त्यस्तै होइन र ?’ उनी सोच्दछन् । टोपीबाट सपना निकालिन्छ, अनि अन्त्यमा हाम्रो खल्ती हलुका हुन्छ ।
भीडको रमाइलो के छ भने, त्यहाँ जिम्मेवारी हराउँछ । भीडमा कोही दोषी हुँदैन । भीडमा सबै बहादुर हुन्छन् । तर एक्लै हुँदा सबै चुप ।
उनी फेरि गम्भीर हुन्छन् । हामीले प्रश्न सोध्न छोड्यौँ । हामीले हिसाब माग्न छोड्यौँ । हामीले नेताको फोटो लाइक गर्न सिक्यौँ, तर कामलाई मापन गर्न सिकेनौँ । चुनाव त फेरि आउँछ । फेरि भीड जुट्छ । फेरि नारा लाग्छ । हामी फेरि मोबाइलमा भिडियो हेरेर गर्व गर्छाैँ–‘हेर, कति ठूलो सभा !’
तर पाँच वर्षपछि फेरि पिँढीमै बसेर उही कुरा दोहोर्याउँछौँ–‘सुख कहिल्यै आउँदैन, चुनाव चाहिँ पटक–पटक आउँछ ।’
बुढा बालाई खेतमा जान बेर हुन्छ । उनी मोबाइल बन्द गर्छन् । आकाशतिर हेरेर मुस्कुराउँछन्, ‘देश बिग्रिएको छैन । देश त अझै पिँढीमै बसेर सोचिरहेको छ । समस्या के छ भने सोच्नेहरू कम, भीड बन्नेहरू धेरै । र हामी सबैलाई नेता बन्ने चाहना छ, नागरिक बन्ने होइन ।’
अनि खुइय सुस्केरा हाल्दै उठ्छन् । मनमनले भन्छन्, ‘ल, भोलि फेरि चुनावी सभा छ रे । जाउँ कि नजाउँ ? जाउँ होला, आखिर भीड देखिन पनि कोही न कोही त जानैपर्छ !’