नेभिगेशन

सुकुम्वासी बस्तीको अन्तिम रात (तस्वीरसहित)

काठमाण्डौ – बागमती किनारस्थित थापाथली सुकुम्वासी बस्तीमा वर्षौँदेखि बस्दै आएका परिवारहरूको लागि यो रात धेरै भारी थियो । डोजर चल्नु पूर्वको त्यो अनिश्चितता र डरलाई यी तस्वीरहरूले जीवन्त पारेका छन् । 

थापाथली सुकुम्वासी व्यवस्थापन वर्षौँदेखिको जटिल समस्या हो । सरकार र 'सुकुम्वासी'बीचको सङ्घर्ष यस पटक निर्णायक मोडमा पुगेको देखिन्छ। बालबालिकाका स्कुल ब्यागदेखि वृद्ध वृद्धाका ओछ्यानसम्म सबै पोको पारिएका छन् । 

सामान्य दिनचर्याभित्र जस्तो देखिने चहलपहलमा पनि अनिश्चितता र डर स्पष्ट थियो। बस्ती खाली गर्ने सरकारी निर्णयको पूर्वसन्ध्यामा यहाँका बासिन्दाहरू केवल आफ्नो घर बचाउन मात्र होइन, आफ्नो अस्तित्व जोगाउन सङ्घर्षरत छन्।

टिनका जस्ताले बनेका घरभित्र पाकिरहेको खाना होस् वा बाहिर बालबालिकाको खेल, सबैमा मौन संशय छ। यो बस्ती केवल संरचना होइन, सयौँ मानिसको सङ्घर्ष र भोगाइको साक्षी हो।

घरभित्र काममा व्यस्त हातहरूमा भोलि वरिपरि कस्तो अवस्था हुनेछ भन्ने चिन्ता स्पष्ट थियो। डोजर कहिले आइपुग्ला भन्ने डर । यो रात त्यही त्रासको उच्चतम बिन्दु थियो। 

बस्तीका गल्लीहरूमा देखिएको सन्नाटा केवल रातको होइन, विस्थापनको त्रासदीको संकेत हो। राज्यले ‘सुकुम्वासी’को ट्याग लगाउँदै बस्ती खाली गरे पनि वर्षौँदेखिको श्रम र पीडा समाप्त हुँदैन। यो रात थापाथलीमा केवल केही झुप्राहरू मात्र सुतेका छैनन्, ‘हाम्रो भोलि कहाँ छ?’भन्ने सयौँ मानवीय संवेदना र प्रश्नका साथ सुतेको छ।

 

 

प्रकाशित मिति:
थप समाज