काठमाण्डाै – खोला किनारमा बस्दै आएको छाप्रो डोजरले भत्काएपछि अलपत्र परेका हजुरबा गालामा हात राखेर रेडियो सुनिरहेका छन् । उमेरले सत्तरी काटेको छैन, अनुहारमा सय नाघेको चिन्ता छ ।
‘सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चको आदेश’ रेडियो समाचार सुनेर हजुरबा झसंग भए । भत्काइसकेपछि नभत्काउनू भनेको के ? .....ए सत्तारूढ दलकै केही नेताको घर पनि भत्काउनुपर्ने लाइनमा छ भन्ने चर्चा थियो, अब उनीहरूको चाहिँ नभत्काउनू भनेको होला । हजुरबा भत्केको आफ्नो घर हेरेर फेरि टोलाए ।
छेउमा हजुरआमाले सरकारले राहत भनेर पठाएको चामलको भात पकाउँदै थिइन् ।
एकछिनपछि हजुरआमाले भात पस्केर हजुरबालाई खान बोलाइन् । हजुरबा भात खान बसे । भात यति तातो थियो कि माथिबाट बाफ उडिरहेको थियो ।
‘बिस्तारै खानुस् है, भात तातो छ’ हजुरआमाले भनिन् ।
अघिल्लो दिन डोजरले छाप्रो भत्काएपछि भात खान नपाएका हजुरबा बेस्सरी भोकाएका थिए ।
हजुरआमाको कुरा नसुनी हात सीधै थालको बीचमा पुर्याए ।
‘आत्था कति तातो...’ हात पोल्यो । मुखमा राख्दा जिब्रो पोल्यो । आँखा रसाए । कान रातो भयो । हजुरबाले फत्फताउँदै मुख हल्लाए, मानौँ संसदमा प्रतिपक्षले अवरोध गरेको हो ।
एकछिन टोलाएर थाल हेरे । अनि मुसुक्क हाँसे ।
‘म पनि सरकारजस्तै भएँ अब ।’
‘के भन्छन् यी बुढा ? कसरी भयौ सरकारजस्तो’ छेउमा बसेर बिस्तारै भात खाँदै गरेकी हजुरआमाले सोधिन् ।
हजुरबाले हातको औँला फूफू गर्दै भने, ‘तातो भातमा बीचबाट हात हाल्दा मलाई पोल्यो । सरकारको हात पनि मेरै जसरी तात्तातो भातमाथि चल्दैछ नि त !’ हजुरआमा हाँसिन् ।
हजुरबाको दिमागमा भातभन्दा राजनीतिको स्वाद बढ्न थाल्यो ।
उनी सम्झिन थाले— सरकार बनेको केही दिन नबित्दै ठूलठूला नेतामाथि कारबाही शुरू भयो । ‘पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री’ नामै सुन्दा पनि जोकोहीले जिब्रो टोक्ने स्तरका मान्छे ।
हजुरबाले त्यो बेला सुकुम्बासी बस्तीका दौँतरीहरूसँग भनेका थिए, ‘ठूला माछा समातिन थाले, अब देश बन्छ ।’
तर केही दिनमै अदालतले छाडिदियो । त्यतिबेलै दौँतरीले भनेका थिए, ‘कुखुरा समात्नुअघि डोरी त खोज्नुपर्थ्याे ।’
आज हजुरबालाई त्यही कुरा याद आयो ।
‘हो त’ उनले मनमनै भने, ‘पहिले प्रक्रिया पुर्याएर, प्रमाण जम्मा गरेर समात्नुपर्थ्याे । थालको छेउबाट भात बिस्तारै खाएजस्तो ।’
हजुरबाले थालको छेउबाट सानो गाँस खान थाले । यसपालि पोलेन ।
‘ए यसरी खाँदा पोल्दो रहेनछ, तर सरकारलाई कसले सिकाउने ?’
हजुरबाले बाहिर हेरे । हिजोसम्म घर भएको ठाउँमा अहिले ढुंगा र टिनको थुप्रो थियो । डोजरले एकै बिहानमा सपनाहरू भत्काएर सम्याइदिएको थियो ।
त्यो दिनको दृश्य सम्झँदा हजुरबाको मन अझै कटक्क खान्छ ।
डोजर अगाडि प्रहरी । प्रहरी अगाडि माइक । माइकमा घोषणा—यो अवैध संरचना हो ।
त्यो सुनेर हजुरबाले त्यतिबेलै भनेका थिए, ‘संरचना अवैध भए पनि भित्रको भोक त वैध हो नि बाबु ।’
तर डोजरलाई भावना बुझ्ने तालिम दिइँदैन रहेछ ।
घर भत्काइयो । भाँडाकुँडा फुटे । स्कुल पढ्ने नातिको किताब पुरियो । अनि एक हप्तापछि अदालतको आदेश आयो–सुकुम्बासी बस्ती नभत्काउनू ।
‘ए बाबा.. भत्काइसकेपछि नभत्काउनु भनेको भात खाइसकेपछि निल्न नखोज भन्नुजस्तै भएन र ?’ हजुरबालाई भित्रभित्रै रीस उठ्यो ।
उनी फेरि भाततिर फर्किए । अब उनले धैर्य सिकिसकेका थिए । छेउको भात सेलाइसकेको थियो । मजाले खान थाले ।
तर सरकारलाई भने हतारै थियो । संसद् बोलायो । स्थगित गर्याे र अध्यादेश ल्यायो ।
हजुरबालाई अध्यादेश भनेको ठ्याक्कै के हो थाहा थिएन । तर उनले यति बुझे–घरका सबै परिवारसँग छलफल नगरी सीधै आफूले निर्णय सुनाएजस्तो ।
उनले एक दौँतरीहरूलाई सोधेका थिए, ‘संसद् किन बोलाएको ?’
दौँतरीले भने, ‘कानून बनाउन ।’
‘अनि किन स्थगित गरेको त ?’
‘अध्यादेश ल्याउन ।’
हजुरबा केहीबेर चुप लागे । अनि भने, ‘तेसोभा संसद् त भात पकाउन राखेको खाली भाँडो पो रहेछ ?’
सबै हाँसे ।
हजुरबालाई लाग्थ्यो— सरकारमा जोश धेरै छ । नयाँपन पनि छ । पुरानाले नगरेको गर्न खोजेको छ । तर कहिलेकाहीँ जोशले होश गुमाउँछ । जसरी भोकको झोँकमा थालको बीचबाट गाँस टिप्दा हात र जिब्रो पोलेको थियो ।
बीचबाट झिक्दा हात पोलेपछि छेउबाट गास टिप्दै गरेका हजुरबाले मनमनै भने, ‘सरकारले अझै थालकै बीचबाट तातो गास टिपिरहेको छ ।’
पहिले नागरिकको गास, बास, कपासका लागि काम गर्नुपर्थ्याे । इन्धनको भाउ बढेपछि हुँदाखानेलाई मात्रै होइन, हुनेखानेलाई पनि गुजारा चलाउन मुश्किल छ । पहिले नागरिकको पेट भर्ने उपाय खोजेर बागमतीको नदी किनारमा सुन्दरता भर्ने काममा लाग्नुपर्थ्याे । सुकुम्बासी बस्ती भत्काउनु पहिले वैकल्पिक व्यवस्था मिलाउनुपर्थ्याे । संसदीय प्रक्रियाबाटै हुने कामका लागि अध्यादेशको सहारा लिनु हुँदैन थियो । दोषी भन्दै पक्रनुअघि बलियो प्रमाण जुटाउनतिर लाग्नुपर्थ्याे । तर सरकार त सीधै बीचको तातो भातमा हात गाड्नै व्यस्त छ ।
हजुरबालाई लाग्यो, देशका जल्दाबल्दा विषय चलाउनु र तातो भात खानु उस्तै रहेछ । दुवैमा धैर्य चाहिन्छ । दुवैको तापक्रम छामेर बुझ्नुपर्छ । नत्र हात पोल्छ ।
भातको गास टिप्न छोडेर हजुरबाट टोलाएपछि हजुरआमाले सोधिन्, ‘किन मुसुमुसु हाँस्नुभो ?’
हजुरबाले थाल हेर्दै भने, ‘यो भातले राजनीति सिकायो ।’
‘कस्तो राजनीति ?’
‘छेउबाट बिस्तारै शुरू गर्नुपर्छ भन्ने राजनीति ।’
त्यत्तिकैमा किताब कापी र ड्रेस डोजरले पुरेपछि स्कुल जान नपाएर खेल्न गएको नाति आयो र सोध्यो, ‘हजुरबा डोजरले हाम्रो घर किन भत्काएको ?’
हजुरबा केहीबेर चुप लागे । नजिकै भत्किएको छाप्राको अवशेष हेरे । अनि थालको बीचमा धुवाँ निस्किरहेको भाततिर हेरेपछि बिस्तारै मुस्कुराए र भने, ‘तातो भात खान भत्काएको नि ।’