नेभिगेशन

‘परदेशमा सिकेको सीप स्वदेशमा काम लाग्यो’

सिन्धुपाल्चोकको कालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिएर अहिले भक्तपुरको झोंचेपाखालाई आफ्नो कर्मथलो बनाइरहेका तोयानाथ न्यौपानेको जीवन एउटा खुला पुस्तक जस्तै छ जसमा वैदेशिक रोजगारीको सङ्घर्ष, स्वदेशको अवसर र एउटा सफल उद्यमी बन्ने चाहनाका थुप्रै पानाहरू कोरिएका छन् ।

हिजोआज उहाँ भक्तपुरको दिव्यश्वरी प्लानिङमा आफ्नै चिया पसलमा व्यस्त हुनुहुन्छ । चार आना जग्गा भाडामा लिएर, आफ्नै मेहनतले एउटा ट्रस्ट निर्माण गरी ‘हाम्रो चिया घर’ नामको चिया पसल खोल्नुभएको छ । यहाँ उहाँ मात्र व्यस्त हुनुहुन्न, अरू पाँच जनालाई प्रत्यक्ष रोजगारीसमेत दिनुभएको छ । श्रीमती र आफूसहित सात जनाको परिवार यही चिया घरको आम्दानीबाट चलेको छ ।

तोयानाथको व्यावसायिक यात्रा आजको भोलि नै शुरू भएको होइन । यसको जग १९ वर्ष अगाडि कुवेतमा गाडिएको थियो । ‘त्यति बेला नेपालमा अवसर नभएका त होइनन् तर विदेश गएपछि केही नयाँ कुरा सिकिन्छ, पैसाको महत्त्व बुझिन्छ भन्ने सोचले म कुवेत उडेँ’, उहाँले विगत सम्झिनुभयाे । चार वर्षको कुवेत बसाइँमा उहाँले ‘कुवेती अमेरिकन फुडस्टफ कम्पनी’ को फास्टफुड रेस्टुरेन्टमा काम गर्नुभयो ।

विदेशले उहाँलाई केवल पैसा मात्र दिएन, जीवन जिउने कला पनि सिकायो । ‘नेपालमा हुन्जेल हामी बुबाआमामा आश्रित थियौँ । विदेश गएपछि मात्र परिवार, आफन्त र आफ्नो देशको महत्त्व बुझियो’, उहाँ भन्नुहुन्छ । टाउको दुख्दा वा बिरामी हुँदा मलम लगाइदिने कोही नहुँदा आफैँलाई कसरी व्यवस्थापन गर्ने र सीमित कमाइबाट कसरी बचत गर्ने भन्ने पाठ उहाँले त्यहीँ सिक्नुभयो ।

कुवेतमा रहँदा म्यानेजरले दिएको एउटा मन्त्र तोयानाथको मानसपटलमा आज पनि ताजा छ । म्यानेजरले भन्थे– ‘साहु वा म्यानेजरलाई होइन, ग्राहकलाई केयर गर । तिम्रो तलब साहुले होइन, ग्राहकले दिने हो ।’ उहाँले त्यहाँ एउटा अर्को महत्त्वपूर्ण कुरा पनि सिक्नुभयो– ‘बच्चाहरूलाई ध्यान दिनुस्, किनकि बच्चा आजको पनि ग्राहक हो र भविष्यको पनि ।’ यही सानो तर गहन कुरालाई उहाँले अहिले आफ्नो ‘हाम्रो चिया घर’ मा लागू गर्ने प्रयास गरिरहनुभएको छ ।

१५ वर्ष अगाडि नेपाल फर्किएपछि उहाँले शुरूमा किराना पसल खोल्नुभयो । साथै एअरपोर्ट होटलमा जागिर पनि खानुभयो । तर कोरोना महामारीले होटल व्यवसाय धराशायी बनाइदिएपछि उहाँले जागिर छोडेर आफ्नै केही गर्ने निर्णय गर्नुभयो । भक्तपुरको नयाँ प्लानिङ क्षेत्रमा १० वर्षका लागि जग्गा लिजमा लिएर उहाँले शून्यबाट ‘हाम्रो चिया घर’ ठड्याएउनुभयो ।

‘म ३० रुपैयाँको चिया बेच्छु र यसैबाट पाँच जनालाई रोजगारी दिन सकेको छु’, उहाँ गर्वका साथ सुनाउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘व्यापार सानो वा ठूलो हुँदैन । सकारात्मक सोच र निरन्तरता भयो भने नेपालमै राम्रोसँग बाँच्न सकिन्छ । हामी अरूको ठूलो घर र प्रगति देखेर इर्ष्या गर्छाैँ तर आफूसँग भएको क्षमता चिन्न सक्दैनौँ । अरूको देखासेखीमा लाग्ने हो भने व्यवसाय डुब्छ तर बिस्तारै आफ्नै गतिमा अघि बढ्ने हो भने सफल भइन्छ ।’

कुवेत जाँदा उहाँको तलब १८ हजार रुपैयाँ थियो जुन चार वर्षमा बढेर ३५ हजार रुपैयाँ पुग्यो । अहिले आफ्नै व्यवसायबाट उहाँ त्योभन्दा कैयौँ गुणा धेरै कमाउनुहुन्छ । मासिक झन्डै डेढ लाख रुपैयाँ त उहाँको कर्मचारीको तलब, भाडा र बिजुलीमै खर्च हुन्छ । ‘म ठ्याक्कै यति कमाउँछु भनेर हिसाब राख्दिनँ तर म खुशी छु । विनोद चौधरी पनि आफ्नै ठाउँमा खुशी होलान्, म चिया पसले पनि आफ्नै ठाउँमा खुशी छु’, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीबाट फर्किने युवाहरूका लागि उहाँ एउटै सल्लाह दिनुहुन्छ, विदेशमा सिकेको सीपको कम्तीमा २०–३० प्रतिशत मात्र यहाँ लागू गर्न सके पनि धेरै प्रगति गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ धेरै मान्छे १० लाख लगानी गरेपछि म साहु भएँ भनेर गमक्क पर्छन्, काममा समय दिँदैनन् । कामलाई पूजा गर्नुपर्छ, कामदारलाई सम्मान गर्नुपर्छ । तब मात्र व्यवसाय फस्टाउँछ ।’

तोयानाथको यात्रा यतिमै रोकिएको छैन । ‘हाम्रो चिया घर’ लाई एउटा ब्रान्डकf रूपमा विकास गर्ने उहाँको सोच छ । राम्रो ठाउँ पाएमा यसको अर्को शाखा खोल्ने र थप केही युवाहरूलाई रोजगारी दिने उहाँको योजना छ ।

तोयानाथ न्यौपानेको यो अनुभव युवाहरूका लागि प्रेरणा हो जो विदेशमा रगत पसिना बगाइरहेका छन् वा स्वदेशमै केही गर्न खोज्दैछन् । उहाँका अनुसार मेहनत, सही दृष्टिकोण र कामप्रतिको सम्मान हुने हो भने एउटा सानो ‘चिया घर’ ले पनि ठूलो आत्मसन्तुष्टि र सफलता दिलाउन सक्छ ।

‘एकचोटि सिकेको सीप कहिल्यै खेर जाँदैन’

काठमाण्डौको गोठाटारमा बस्ने उषा खड्काको दैनिकी अचेल निकै व्यस्त छ । उहाँ आफ्नै सीप र पौरखमा रमाइरहनुभएको छ । १० वर्ष कुवेतको ब्युटीपार्लर क्षेत्रमा बिताएर फर्किएकी उषा अहिले नेपालमै सफल ब्युटी व्यवसायीका रूपमा चिनिन थाल्नुभएको छ ।

उषाको वैदेशिक रोजगारीको यात्रा खासै रहरले मात्र शुरू भएको थिएन । सन् २००५ मा विवाह भयो र सन् २००६ मा उहाँ श्रीमानसँगै कुवेत जानुभयो । श्रीमान पहिले नै कुवेतमा कार्यरत हुनुहुन्थ्यो । शुरूका दिनहरू सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘सपना त धेरै बुनेर गएका थियौँ तर अर्काको देशमा सोचेजस्तो सजिलो नहुने रहेछ । शुरूमा भाषाको समस्या र कामको नयाँ शैलीले १/२ वर्ष निकै गाह्रो भयो ।’

कुवेतमा उहाँले १० वर्ष नै ब्य'टीपार्लर क्षेत्रमा काम गर्नुभयो । नेपालमा छँदा सामान्य तालिम मात्र लिनुभएकी उषाले कुवेतका आधुनिक पार्लरहरूमा काम गर्दा आफ्नो सीपलाई माझ्ने अवसर पाउनुभयो । ‘त्यहाँको कामले मलाई मेरो क्षेत्रमा पोख्त बनायो । एउटै कामलाई बारम्बार गर्दा हातमा सफाइ आयो र नयाँ प्रविधिहरूसँग परिचित हुने मौका मिल्यो’, उहाँ सुनाउनुहुन्छ ।

स्वदेश फर्किएर नयाँ शुरुआत

कुवेतमा रहँदा उषाका जुम्ल्याहा सन्तान जन्मिए तर परदेशमा बच्चा हुर्काउन र कामलाई सँगै लैजान खर्चिलो र झन्झटिलो भयो । त्यही माथि घरको याद र आफ्नै देशमा केही गर्ने हुटहुटीले उहाँलाई नेपाल फर्कायो ।

नेपाल फर्किएपछि शुरूमा केही समय उहाँले काठमाण्डौको चर्चित ’ट्रयाकुलिटी स्पा’ मा काम गर्नुभयो । तर कोभिड–१९ को महामारीले विश्वलाई जस्तै उषालाई पनि प्रभावित पार्‍याे । लकडाउनका बेला बिदामा बस्नुपरेपछि उहाँले आफ्नै घरबाट फ्रिल्यान्सरका रूपमा काम शुरू गर्ने निर्णय गर्नुभयो । त्यही निर्णय नै उहाँको जीवनको ठूलो मोड बन्यो ।

नेपालमा धेरैजसो ब्युटीपार्लरमा केमिकल मिसिएका सौन्दर्य सामग्री प्रयोग गरिन्छ तर उषासँग एउटा छुट्टै खुबी थियो— जुन उहाँले कुवेतमा अरबिकहरूबाट सिक्नुभएको थियो । त्यो थियो– घरमै ‘अर्गानिक वक्स’ पकाउने विधि ।

‘कुवेतमा अरबिकहरू घरमै अर्गानिक तरिकाले वक्स पकाउँथे । मैले त्यो सीप त्यहीँ सिकेकी थिएँ’, उषा भन्नुहुन्छ, ‘नेपालमा शुरूमा त ग्राहकले मन पराउनुहुन्छ कि हुन्न भन्ने डर थियो तर अहिले मेरो यही वक्स धेरैले मन पराउनुभएको छ । यसले छालामा असर गर्दैन र आफैँले बनाएको हुनाले भरपर्दो पनि छ ।’

आफ्नै काम, आफ्नै सन्तुष्टि

अहिले उषाले घरैबाट ब्युटीपार्लरका सेवाहरू प्रदान गर्दै आउनुभएको छ । विशेषगरी पुरानो चिनजानका ग्राहक र उहाँको गुणस्तरीय कामबाट प्रभावित भएका नयाँ ग्राहकहरूको भीड लाग्ने गर्छ ।

कमाइको कुरा गर्दा उहाँ दङ्ग हुनुहुन्छ । ‘कुवेतमा भन्दा यहाँ घरमा बसेर काम गर्दा छुट्टै सन्तुष्टि छ । हप्ताको सातै दिन, १० देखि ५ सम्म खटिनुपर्ने बाध्यता छैन । घर पनि म्यानेज गर्न सकिन्छ र बच्चालाई पनि समय दिन मिल्छ । सबै खर्च कटाएर महिनाको ५०–६० हजार रुपैयाँ औसतमा कमाइ हुन्छ’, उहाँले आफ्नो खुशी साट्नुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि सरकारले औद्योगिक वातावरण बनाइदिनुपर्ने उषाको सुझाव छ । सीप भए पनि अवसर र प्रणालीको अभावले धेरै युवा पलायन हुनुपरेकोमा उहाँ चिन्तित हुनुहुन्छ ।

विदेश जान चाहनेहरूलाई उहाँको एउटै सन्देश छ— ‘सीप सिकेर जानुस्, दुःख पाउनुहुन्न । तर यदि तपाईँ विदेशमा जत्तिकै मेहनत नेपालमै गर्न सक्नुहुन्छ भने नेपालमै सुन फलाउन सकिन्छ । विदेशमा १४/१५ घण्टा काम गर्दा स्यालरी सीमित हुन्छ तर यहाँ १० घण्टा मात्र इमानदारीपूर्वक श्रम दिन सकियो भने त्योभन्दा धेरै सम्मान र कमाइ दुवै पाइन्छ ।’

उषा खड्काको यो १० वर्षको कुवेत यात्रा र अहिलेको गोठाटारको उद्यमशीलताले एउटै कुरा प्रमाणित गर्छ ‘सीप कहिल्यै खेर जाँदैन र धैर्यताको फल सधैँ मिठो हुन्छ ।’

प्रकाशित मिति:
थप विशेष