नेभिगेशन

बा =बो, ले=ले, न =नन् =+= बालेन बोलेनन् !

जेठको बिहान । गाउँको पाखोबारीमा दुई जना किसान आशबहादुर बा र खासप्रसाद काका मकै गोड्दैछन् । भर्खर एक बित्ता हुन लागेका मकै । कहिले पोल्नेगरी घाम, कहिले भिज्नेगरी पानी । दुवै जनाको हातमा कोदालो । तर मुखमा चाहिँ राजनीतिको गफ । राजनीति नचपाई मकै गोडियो भने मकै पनि रिसाउँछ कि भनेझैँ उनीहरू चुनावमा भोट दिएदेखि अहिले पाएको चोटसम्मका गफ गर्दैछन् ।

त्यही बेला तलबाट स्कूलका मास्टर मोटरसाइकलमा हुइँकिँदै गए । जाँदाजाँदै चिच्याए,

‘ए काका सुन्नुभो, हाम्रा स्कूलका दुई जनाले एसईईमा ४ जीपीए ल्याए नि !’

‘ए हो र ? अनि अरू ?’ आशबहादुर बा खुशीले चम्किए ।

‘पाँच जनाको ननग्रेडेड’ मास्टर धूलो उडाउँदै मोटरसाइकलमा अगाडि हुइँकिए ।

मकै गोडिरहेका दुवै जना केहीबेर चुप लागे । त्यसपछि खासप्रसाद काकाले मकैको झार उखेल्दै भने, ‘यो त ठ्याक्कै बालेन सरकारको नतिजाजस्तो भयो नि !’

आशबहादुर हाँसे र भने, ‘कसरी ? किन ?’

‘किनभने लिखितमा ४ जीपीए, मौखिकमा ननग्रेडेड !’

‘यो चाहिँ गजबको कुरा गर्‍याै है’ आशबहादुर बारीको डिलमा कोदालो अड्याएर उभिए ।

खासप्रसाद काका अब जोशिए—

‘हेर न त, प्रधानमन्त्री हुनेबित्तिकै कति गज्जब गज्जबका निर्णय ल्याए । मन्त्रालयको संख्या घटाउने, शासकीय सुधारका १०० कार्यसूची ल्याउने, सरकारी खर्च कटौती गर्ने...... । सुन्दा लाग्थ्यो—अब देश स्विट्जरल्यान्ड बन्न दुई हप्ता मात्रै बाँकी छ !’

‘हो नि’ आशबहादुर बाले थपे, ‘त्यो त ठ्याक्कै लिखित परीक्षामा गेसपेपर पढेर गएको विद्यार्थीले शुरूदेखि उत्तरपुस्तिका भरिभराउ पारेजस्तो भयो ।’

खासप्रसाद काका मुसुक्क हाँसे—

‘अनि फेसबुक स्टाटस ! उफ्, अहिले त लेखाइ नै ४ जीपीएको । पहिले त जस्ट पास जस्तो लाग्थ्यो, अहिले त गज्जब । शब्द यस्ता आउँछन् कि पढ्दा लाग्छ देशको सबै समस्या आजै हल हुन्छ ।’

आशबहादुर पनि कहाँ पछि पर्थे र !

‘अघिल्लो शनिवार शर्ट पाइन्ट र जुत्ताको प्रचार गरे । यसपालिको शनिवार चिजको प्रचार गरे । अब अर्को शनिवार के आउला ? चप्पल कि चम्चा ?’

दुवै हाँसे ।

खासप्रसाद काकाले भने—

‘हामी त खेतमा मल हाल्छौँ, उता फेसबुकमा पोस्ट हालिन्छ । अहिले देश चलाउनेभन्दा पोस्ट चलाउने प्रतिस्पर्धा बढी छ ।’

आशबहादुर बा फेरि गम्भीर भए—

‘तर एउटा कुरा भने मान्नुपर्छ, लिखितमा नम्बर राम्रै ल्याएका छन् ।’

‘त्यो त हो’ खासप्रसादले टाउको हल्लाए, ‘तर समस्या मौखिक परीक्षामा पो भयो ।’

‘किन ?’

‘अरे..संसद् भनेको मौखिक परीक्षा दिने थलो होइन र ? त्यहाँ आएर प्रश्नको जवाफ बोलेरै पो दिनुपर्थ्याे पास हुन त । तर प्रधानमन्त्रीज्यू हुनुहुन्छ मौखिक जाँच दिनै नमान्ने हठी बालक झै मौनव्रती ।’

खासप्रसाद काकाले फेरि थपे, ‘त्यो दिन राष्ट्रपति बोलिरहँदा बीचमै उठेर हिँडेको देखेपछि त मलाई लाग्यो—विद्यार्थी मौखिक परीक्षा छाडेर चर्पी जान्छु भन्दै घरतिर कुलेलम ठोकेजस्तो ।’

आशबहादुर बाले कोदालो रोकेर ठट्टा गरे, ‘सांसदहरूले ‘बोल्नुस् भन्दा पनि नबोल्ने । अरू बेला पनि त्यति नबोल्ने । त्यसैले मौखिकमा ननग्रेडेड !’

‘उता अदालतले दिइसकेका केही जाँच उल्टाइदियो नि’ खासप्रसाद काकाले सम्झिए ।

‘त्यसमा त पूरक परीक्षा दिनुपर्ने होला’ आशबहादुर बाले जवाफ फर्काए, ‘हाम्रो गाउँको बाठेकान्छो पनि दुई विषयमा फेल भएपछि पूरक दिन गयो । सरकारले पनि अदालतमा पूरक दिनुपर्ने अवस्था ।’

दुवै फेरि हाँसे ।

आशबहादुर बाले एकछिन सोचेर भने—

‘तर जनता पनि अचम्मका छन् है । लिखितमा राम्रो नम्बर देखेपछि तुरुन्तै फूलमाला लगाइदिन्छन् । मौखिकमा ननग्रेडेड आयो भने पनि अझै समय छ भनेर ढाकछोप गर्छन् ।’

खासप्रसाद काकाले लामो सास फेर्दै भने, ‘अहिले देशमा कामभन्दा प्रचारको नम्बर बढी चल्छ नि दाइ । खेतमा मल नहालेर फोटो मात्रै खिचे जस्तो । फेसबुकमा स्टाटस हालेपछि आधा जनता त त्यसै खुशी हुन्छन् ।’

त्यत्तिकैमा तल मूलबाटोबाट गाउँका युवाहरूको आवाज आयो, ‘ल हेर बालेनले फेरि नयाँ स्टाटस लेख्नुभयो ।’

आशबहादुरले टाढैबाट सोधे, ‘के लेखेछन् ?’

‘देश बदल्छु भन्नुभएको छ !’

खासप्रसाद काका मुसुक्क हाँसे, ‘स्टाटसमा त धेरै पटक बदलिसके । अब व्यवहार पनि बदल्नुपर्‍याे । पहिले त आफैँ बदलिन पर्‍याे नि !’

युवाहरू हाँस्दै तल झरे ।

आशबहादुर काकाले कोदालो चलाउँदै भने, ‘हुन त नामै बालेन । बालेनमा बा पनि छ, लेन पनि छ । पहिलेका बाको जस्तै लेन पच्छ्याएर शक्तिशाली हुने रहर जाग्नुमा पनि नामकै कमाल होला । अनि बालेनमा अघिल्तिरको बा मा मास्तिर धर्को तान्दा बो र पछिल्तिरको न लगत्तै अर्को खुट्टा झारेको न् थप्दा बोलेनन् पनि हुन्छ । नाम अनुसारकै काम भयो क्यारे–बालेन, बा लेन, बोलेनन् !’

खासप्रसाद काका पेट मिचीमिची हाँस्न थाले, ‘त्यसैले संसदमा पनि बोलेनन्, पत्रकारसँग पनि बोलेनन्, सांसदले बोल भन्दा पनि बोलेनन् । अनि मौखिक परीक्षामा कसरी पास हुन्छन् ?’

आशबहादुरले निष्कर्ष निकाले—‘तर फेल भनिहाल्ने हिम्मत पनि कसैको छैन ! त्यसैले ननग्रेडेडलाई पनि समर्थकहरूले ‘यो नयाँ शिक्षा प्रणाली हो’ भनेर बुझाउँछन् ।’

खासप्रसादले मकैको बोट सोझ्याउँदै भने, ‘हाम्रो पालामा ननग्रेडेड भनेको सीधै फेल हो । अहिले चाहिँ ‘सम्भावना बोकेको विद्यार्थी’ रे !’

आशबहादुरले पनि मकैको बोट हेर्दै भने, ‘देश पनि त्यस्तै भयो । काम कम, सम्भावना धेरै !’

केहीबेर दुवै चुप लागेर मकै गोडिरहे । माथि आकाशबाट पानी वर्षने छाँट देखियो । दुवै जनाले कोदालो काँधमा राखे ।

खासप्रसाद काकाले भने, ‘खैर, लिखितमा ४ जीपीए ल्याउनु राम्रो कुरा हो । तर देश चलाउने परीक्षा कापीमा मात्रै हुँदैन । जनता अगाडि बोल्नुपर्छ, संसदमा उभिनुपर्छ, आलोचना सुन्नुपर्छ । होइन भने फेसबुकको स्टाटसले मात्रै देश चल्दैन ।’

आशबहादुर बाले कोदालो काँधमा राखे— ‘ठीकै भन्यौ । आखिर खेतमा फोटो खिचेर मात्रै मकै फल्दैन, गोडमेल पनि गर्नुपर्छ ।’

दुवै किसान हाँस्दै घरतिर लागे । खेतमा मकै उभिएका थिए । देशमा स्टाटस !

प्रकाशित मिति:
थप विशेष