गाउँको चौतारो । बिहानको घाम । हातमा नयाँ स्मार्टफोन बोकेर बसिरहेका छन् ७० वर्ष कटेका बुढा बा । छोरीले विदेशबाट पठाएको फोनमा केही महिनाअघि मात्रै फेसबुक चलाउन सिकाइदिएको थियो नातिले । अहिले त बा उमेरभन्दा छिटो स्क्रोल गर्न थालिसकेका छन् । घरमा गर्मीले बस्न नसकेपछि बुढा बा चौताराको हावा खाँदै फेसबुक हेर्दैछन् ।
बाले फेसबुक हेर्दाहेर्दै नयाँ पार्टीमा सक्रिय गाउँकै युवा कार्यकर्ता आइपुगे । युवा कार्यकर्ता पार्टीको झोला भिर्न र प्रधानमन्त्री हरेक फेसबुकमा पोस्टमा ‘वाह क्या दूरदर्शी नेतृत्व’ लेख्न भुल्दैनन् ।
बाले युवा कार्यर्तालाई मोबाइल देखाउँदै भने ‘हेर त बाबु, प्रधानमन्त्री भएर पनि के लेखेको यस्तो ?’
युवाले तुरुन्तै चस्मा मिलाएर सोधे ‘कहाँ बा ? देखाउनुस् त ।’
बाले मोबाइल अगाडि सारिदिए । ‘ल हेर । सचिवले राजदूत बनाउन एसएमएस पठायो भनेर प्रधानमन्त्रीले फेसबुकमा यस्तो लेखेका रैछन्, प्रधानमन्त्रीले देश चलाउने कि फेसबुक चलाउने ?’
‘हैट बा यो त उहाँको नक्कली फेसबुक पेज हो । पहिले सक्कली नक्कली कुन हो भनेर थाहा पाउनुपर्याे नि !’ युवा कार्यकर्ताले प्रधानमन्त्रीको स्टाटस हैन भनेर बासित जिद्दि गरे ।
‘बाबु कुन सक्कली, कुन नक्कली भन्ने त मै बुढोले पनि थाहा पाउन थालिसकेको छु, बरु तिमीलाई अझै आउँदो रहेनछ ।’ बुढा बाले जोड गरेपछि युवा कार्यकर्ताले आफ्नो मोबाइलमा तलदेखि माथिसम्म सबै हेरे । फेसबुक स्टाटस सक्कली नै रहेछ ।

युवा मुसुक्क हाँसे, ‘बा, तपाईंले बुझ्नुभएन । यो आधुनिक राजनीतिक शैली हो ।’
‘राजनीति हो कि रमाइलो ?’
‘यो जनतासँग प्रत्यक्ष संवाद हो ।’
बा अलमलिए ।
‘अनि देशको काम ?’
‘त्यो पनि हुँदैछ नि बा ।’
‘कहाँ हुँदैछ ?’
‘फेसबुकमै हुँदैछ ।’
बा एकछिन चुप लागे ।
‘हैन, मैले त सुनेको थिएँ प्रधानमन्त्री कम बोल्नुहुन्छ रे ।’
‘हो नि बा ।’
‘अनि फेसबुकमा चाहिँ बोल्नुहुन्छ ?’
‘त्यो बोलेको होइन, पोस्ट गरेको ।’
‘अनि पोस्ट भनेको नि ?’
‘डिजिटल नेतृत्व ।’
बाले टाउको कन्याए ।
‘हाम्रो पालामा त नेता गाउँ आउँथे, कुरा गर्थे । अहिले नेता फेसबुकमा आएर पोस्ट गर्दा रहेछन् ।’
युवाले गर्वका साथ भने ‘यो भनेको क्रमभंग हो बा, विकास भनेको पनि यही हो ।’
बा झन् उत्सुक भए ।
‘अनि शनिवार–शनिवार किन पोस्ट गर्छन् त ?’
युवाले राजनीतिक विश्लेषक जसरी तर्क दियो, ‘शनिवार विशेष दिन हो ।’
‘किन ?’
‘शनिवार भनेको सार्वजनिक बिदा । जनतालाई पनि फुर्सद, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि फुर्सद । त्यसैले जनताले त्यस दिन प्रधानमन्त्रीको दर्शन पाउने व्यवस्था मिलाएको ।’
‘दर्शन ?’
‘फेसबुक दर्शन ।’
बा हाँस्न थाले ।
‘अनि मैले देखेँ एकपटक कपडा देखाउनुभएको रहेछ ।’
‘त्यो राष्ट्रिय पोशाक प्रवर्द्धन गरेको नि ।’
‘अर्कोपटक चिज खाएको फोटो रहेछ ।’
‘त्यो दुग्ध विकासको सन्देश दिएको ।’
‘अनि से चिज लेखेको ?’
‘त्यो त अन्तर्राष्ट्रिय कूटनीति ।’
‘चिज खाएको देखाउँदा पनि कूटनीति हुन्छ र ?’
‘अहिले सबै कुरा कुट भैरहेको छ बा ।’
‘अनि बजेट भाषणको रात ढुक्क हुनुस् भनेर लेखेको के नि ?’
‘त्यो आर्थिक आत्मविश्वास ।’
‘अनि त्यसपछि केही नभनेको नि ?’
‘जनतालाई ढुक्क हुने समय दिनुभएको ।’
बा पेट मिचिमिची हाँस्न थाले ।
‘अनि राजदूतको लागि सचिवले एसएमएस पठाएको प्रकरण ?’
‘पारदर्शिताको नमूना नि बा ।’
‘फेसबुकमा लेख्नै परेपछि नेपाली अक्षरमा लेख्दा के हुन्थ्यो ? किन रोमनमा लेखेको नि ?’
‘एउटा जेनजी मैत्री भाषा र अक्षर । अनि अर्को भनेको प्रविधिमैत्री शासन ।’
बाले फेरि मोबाइलतिर हेर्दै भने– ‘पहिले मैले पनि यो नक्कली फेसबुक होला भन्ने ठानेको थिएँ ।’
युवाले तुरुन्तै भने, ‘हाम्रा साथीहरुले पनि पहिले त यही सोचेका रैछन् नि ।’
‘अनि पछि ?’
‘पछि प्रधानमन्त्रीकै रहेछ भन्ने थाहा भयो ।’
‘त्यसपछि ?’
‘त्यसपछि हामीले भन्न थाल्यौं–प्रधानमन्त्रीले यति लेख्दा के भो त ?’
बा मुस्कुराए ।
‘अनि भोलि प्रधानमन्त्रीले फेसबुकमा गुड नाइट लेख्नुभयो भने ?’
‘त्यो जनताप्रतिको आत्मीयता हुन्छ ।’
‘बिहान गुड मर्निङ लेख्नुभयो भने ?’
‘प्रधानमन्त्रीलाई राति जस्तो बिहान यसरी लेख्न मूड हुँदैन । त्यसमाथि गुड मर्निङ लेखिरहने मान्छे फेरि गृहमन्त्री भएर आउलान् जस्तो छ । प्रधानमन्त्रीले पनि त्यसरी लेख्नुभयो भने त सकारात्मक सन्देशको अर्थ हुन्छ ।’
‘अनि चिया खाएको फोटो राख्नुभयो भने ?’
‘कृषि प्रवर्द्धन ।’
‘भात खाएको फोटो ?’
‘खाद्य सुरक्षाको प्रतिबद्धता ।’
‘सुतेको फोटो ?’
‘कामको थकान ।’
‘हाछ्युँ गरेको फोटो ?’
‘स्वास्थ्य सचेतना ।’
अब ती युवा कार्यकर्तालाई पनि बा जिस्क्याइरहेका छन् भन्ने थाहा भयो । तर पार्टीप्रतिको निष्ठा कमजोर हुने कुरा थिएन ।
उनले गम्भीर भएर भने, ‘बा, तपाईं पुरानो सोचको मान्छे ।’
‘किन ?’
‘अहिले देश चलाउने तरिका बदलिएको छ ।’
‘कसरी ?’
‘पहिले सरकार सिंहदरबारबाट चल्थ्यो ।’
‘अनि अहिले ?’
‘फेसबुकबाट ।’
बाले झस्कँदै भने, ‘फेसबुकबाट रे ?’
‘हो नि बा । पोस्ट आयो भने नीति आयो । सन्देश आयो । फोटो आयो भने उपलब्धि आयो ।’
बा केहीबेर नबोली बसिरहे ।
युवा झन् जोशिए ।
‘हेर्नुस् बा, पहिले सभा गर्नुपर्थ्याे, भाषण गर्नुपर्थ्याे, पत्रकार सम्मेलन गर्नुपर्थ्याे । अहिले फेसबुकमा एउटा पोस्ट राख्यो, काम सकियो ।’
‘अनि समस्या नि ?’
‘त्यो त कमेन्टमा लेखिन्छ ।’
‘गुनासो ?’
‘इनबक्समा पठाइन्छ ।’
‘जवाफ ?’
‘लाइकबाट दिइन्छ ।’
‘अनि समाधान ?’
‘सेयर गरिन्छ ।’
बा अब छक्क परे ।
‘अनि देश ?’
युवा कार्यकर्ताले गर्वका साथ छाती फुलाए ।
‘देश पनि डिजिटल भयो बा ।’
‘कति डिजिटल ?’
‘यत्रो परिवर्तन भएकै फेसबुकले हो । सरकार बनेकै फेसबुकले हो । अब देश पनि फेसबुकले नै चल्छ ।’
युवाले विजयी भावले कुरा टुङ्ग्यायो ।
बा केही क्षण मौन भए ।
उनले मोबाइलको स्क्रिन हेरे ।
त्यसपछि युवाको अनुहार हेरे ।
फेरि मोबाइल हेरे ।
फेरि युवालाई हेरे ।
अनि बिस्तारै मोबाइलको फ्रन्ट क्यामेरा खोले ।
आफ्नो अनुहार हेरे ।
एकछिनपछि गम्भीर स्वरमा भने–
‘बाबु, फेसबुक चलाउन थालेपछि मान्छेको फेस बिग्रिन्छ भन्ने सुनेको थिएँ ।’
‘अनि ?’
‘आज थाहा भयो, फेसबुकले देश चलाउन थालेपछि मान्छेको सोच्ने दिमागै पनि सड्किदो रहेछ ।’
यति भनेर बा उठे ।
युवा भने प्रधानमन्त्रीको फेसबुक पोस्टमा ‘वाह क्या दूरदर्शी नेतृत्व !’ प्रतिकृया पोष्ट गरि चौताराको हावा खान थाले ।