नेभिगेशन

नयाँपनको राजनीतिक नियुक्ति र खाँटी योग्यता

‘तिमीले सुन्यौ ?’ रमेशले मोबाइलबाट आँखा उठाउँदै सोध्यो ।

‘के ?’ सृष्टिले चिया सुरुप्प पिउँदै भनिन् ।

कलेजको क्यान्टिनमा चिया र समोसा खाँदै रमेशले देशको भविष्य निर्माणको कुरा गरे ‘अब सरकारले नयाँ ढंगले नियुक्ति दिने रे । पुराना सबै राजनीतिक नियुक्ति खारेज । अब खुला प्रतिस्पर्धा ।’

सृष्टिको अनुहार उज्यालो भयो । ‘वाह ! बल्ल देशमा योग्यता खोज्न थालिएछ । अब त पढेका, जानेका, अनुभवी मानिसले अवसर पाउने भए ।’

रमेश मुसुक्क हाँस्यो । ‘म पनि त्यही सोचेर समाचार पढ्दै थिएँ । तर त्यसपछि आवेदनको सूची हेरेँ ।’

‘अनि ?’

‘१३ वटा देशका राजदूतका लागि करिब ३ हजार आवेदन परेछन् । त्यसमध्ये केही व्यक्तिले एकैपटक १० वटा देशका लागि आवेदन दिएका रहेछन् ।’

सृष्टिको हातमा रहेको चियाको कप एकछिन हावामै रोकियो । ‘१० वटा देश ?’

‘हो ।’

‘एउटै मान्छे ?’

‘हो ।’

‘उही मान्छे अमेरिका पनि चलाउने, चीन पनि चलाउने, भारत पनि चलाउने, जापान पनि चलाउने ?’

‘आवेदन हेर्दा त त्यस्तै देखिन्छ ।’

सृष्टि गम्भीर भइन् । ‘म त अहिलेसम्म आफूलाई केही आउँदैन भनेर चिन्तित थिएँ । अब थाहा भयो, मलाई आत्मविश्वासको कमी रहेछ ।’

‘किन ?’

‘किनभने म त समाजशास्त्र पढेकी । समाजशास्त्रकै विषयमा बोल्न पनि दुई पटक सोच्नुपर्छ । तर एकै व्यक्तिले संसारका १० देशसँग नेपालको सम्बन्ध सम्हाल्ने आत्मविश्वास राखेछन् ।’

रमेशले मोबाइलमा थप समाचार देखाउँदै भन्यो, ‘अझ अर्को रमाइलो कुरा सुन्ने ?’

‘भन ।’

‘८ वटा विश्वविद्यालयका उपकुलपति बन्न २ सय १८ जनाको आवेदन परेछ ।’

‘त्यो त ठीकै हो नि ।’

‘तर कतिपयले दुई–दुई विश्वविद्यालयका लागि आवेदन दिएका रहेछन् । सरकारले नै दुई विश्वविद्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको ।’

‘भनेपछि आज त्रिवि, भोलि पूर्वाञ्चल, पर्सि कृषि विश्वविद्यालय चलाउँछु भन्ने आत्मविश्वास ?’

‘हो ।’

‘हाम्रो देशमा यति धेरै प्रतिभा रहेछ भन्ने मलाई थाहै थिएन ।’

रमेश हाँस्यो । ‘मलाई लाग्छ अब विश्वविद्यालयको नाम हेरेर होइन, विश्वविद्यालयले आवेदकलाई सोध्नुपर्छ—हजुरलाई कुन विषयमा विशेषज्ञता छ ?’

‘सबैमा ।’

‘अनुभव ?’

‘जहाँ खाली छ, त्यहीँको ।’

दुवै हाँसे ।

केहीबेरपछि सृष्टि फेरि बोलिन्, ‘तर यो बेरोजगारीको संकेत पनि हो नि ।’

‘कसरी ?’

‘यदि एउटै व्यक्तिले १० ठाउँमा आवेदन दिइरहेको छ भने कि उसलाई जहाँ भए पनि जस्तो भए पनि कुनै न कुनै काम चाहिएको रहेछ भनेर पनि बुझ्न सकिन्छ ।’

‘बुझ्न त त्यसरी पनि सकिन्छ, तर निवेदन बेरोजगार भएर हालेको हैन । जागिर नभई बाँच्न नसक्ने पिशाच प्रवृत्तिका कारण निवेदन गरेको भन्न पनि त मिल्छ !’

‘ठ्याक्कै ।’

‘मलाई त लाग्छ अब नयाँ पेशा जन्मिएको छ— व्यावसायिक आवेदक ।’

‘त्यो भनेको ?’

‘जुन पद खाली भयो, आवेदन हान्यो । राजदूत चाहियो, आवेदन । उपकुलपति चाहियो, आवेदन । सञ्चार संस्थाको अध्यक्ष चाहियो, आवेदन । भोलि चन्द्रमामा नेपालको प्रतिनिधि चाहियो भने पनि आवेदन ।’

रमेशले थप्यो, ‘अब त योग्यता मात्रै होइन, आवेदन दिने कला पनि चाहिने भो ।’

‘बायोडाटा भन्दा पनि सबैतिर म मिल्छु भन्ने आत्मविश्वास चाहिन्छ ।’

दुवै फेरि हाँसे ।

त्यसै बेला रमेशको मोबाइलमा अर्को समाचार आयो ।

उसले पढ्न थाल्यो ।

‘ए, यो त अझ रोचक रहेछ ।’

‘के रहेछ त्यस्तो ?’

‘भर्खरै सरकारी पार्टीका एक नेताले आन्तरिक बैठकमा भनेछन् –पार्टीको जीतका लागि काम गरेका व्यक्तिलाई नियुक्तिमा अतिरिक्त मूल्याङ्कन गरिने ।’

सृष्टि केहीबेर मौन भइन् । 

‘भनेपछि यदि चुनावमा पार्टीको पक्षमा बोलेको छ भने बोनस अंक ।’

‘ठ्याक्कै कलेजको परीक्षामा जस्तै । ‘एमफिल, पीएचडी, अनुसन्धान, अनुभव— ८० अंक । र चुनावमा भोट मागेको— २० बोनस अंक ।’

‘वाह !’ सृष्टिले ताली बजाइन् ।

‘अब मैले बुझेँ खाँटी योग्यता भनेको के रहेछ ।’

‘के ? तिमीलाई राजदूत बन्न अंग्रेजी भाषा आउनु जरुरी छैन । तर पार्टीको नारा कण्ठ हुनु जरुरी छ ।’

‘उपकुलपति बन्नका लागि अनुसन्धान नगरे पनि भयो । तर चुनावमा सत्तारूढ पार्टीका लागि केही न केही योगदान गरेको चाहिँ हुनुपर्‍याे ।’

‘त्यो पनि ठीकै हो । तर चुनावताका समर्थनमा फेसबुकमा कति पोस्ट लेख्यौ भन्ने अझ महत्त्वपूर्ण हुन सक्छ ।’

रमेशले गम्भीर अनुहार बनायो । ‘त्यसो भए अब विश्वविद्यालयमा नयाँ विषय पढाउनुपर्छ ।’

‘कुन ?’

‘राजनीतिक योगदान विज्ञान ।’

‘उन्नत स्तरको भोट व्यवस्थापन ।’

‘सामाजिक सञ्जालमा पार्टी प्रचारको सिद्धान्त र व्यवहार ।’

‘नियुक्ति प्राप्तिका लागि प्रभावकारी समर्थन कला ।’

दुवैको हाँसो रोकिएन ।

केहीबेरपछि सृष्टिले लामो सास फेरिन् र भनिन्, ‘अवकाश हुन लागेका सचिवले केही दिनअघि राजदूत बन्ने इच्छा राखेर सन्देश पठाउँदा प्रहरीले केरकार गर्‍याे । प्रधानमन्त्री र मन्त्रीहरू मिलेर व्यङ्ग्य पनि गरे क्यारे ।’

‘हो त । शायद उनले चुनावमा कुनै पनि कोणबाट योगदान गर्न भ्याएका थिएनन् ।’

‘जे होस् देश साँच्चै नयाँ युगमा प्रवेश गरेको रहेछ ।’

‘किन ?’

‘पहिले मानिसहरू एउटा विषय पढ्थे, त्यसैमा विशेषज्ञ बन्थे ।’

‘अहिले ?’

‘अहिले मानिसहरू एउटा पद खोज्दैनन्, सबै पद खोज्छन् ।’

‘पहिले योग्यता अनुसार अवसर खोजिन्थ्यो ।’

‘अहिले अवसर अनुसार योग्यता निर्माण गरिन्छ ।’

क्यान्टिनको घडीले कक्षा शुरू हुने समय देखायो ।

दुवै उठे ।

जाँदै गर्दा रमेशले सोध्यो, ‘अनि अब कुन पदका लागि पढाइको तयारी गर्ने त ?’

सृष्टि मुस्कुराइन्, ‘पढाइ ? त्यो त पुरानो मोडल भयो ।’

‘अनि ?’

‘पहिला अब हुने चुनावमा कुन पार्टीले जित्ने हो थाहा पाऔँ । त्यसपछि कुन देशको राजदूत, कुन विश्वविद्यालयको उपकुलपति, कुन संस्थाको अध्यक्ष बन्ने हो निर्णय गरौँला ।’

रमेशले टाउको हल्लायो । ‘सही कुरा । आखिर नयाँ नेपालको नयाँ योग्यता भनेकै यही रहेछ— आफूलाई सबै पदका लागि योग्य ठान्ने आत्मविश्वास र सही समयमा सही दल र नेताको पक्षमा उभिने कला ।’

दुवै कक्षातिर लागे ।

क्यान्टिनमा पछिल्तिर बसेका केही विद्यार्थी अझै किताब पढिरहेका थिए । सायद उनीहरूले अझै पनि नियुक्ति र योग्यताबीचको अन्तरसम्बन्धबारे ज्ञान प्राप्त गर्न बाँकी नै थियो ।

प्रकाशित मिति:
थप विशेष