नेभिगेशन

पाँच महिना लगाएर घर्तीभिरको चट्टान फुटाइयो

काठमाण्डौ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमानजिक पर्ने चर्चित घर्ती भिरको चट्टान फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने घर्ती भिरको विशाल चट्टान पाँच महिना लगाएर फुटाइ सडक निर्माण गरिएको हो ।  

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाखमा सम्झौता गरेर घर्ती भिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो ।

घर्ती भिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०८२ माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । सडक निर्माण गरेपछि हिजो कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गर्नुभयो ।

प्रकाशित मिति:
थप समाज