नेभिगेशन

पहिरोले मेची राजमार्गको राजदुवाली सडक खण्ड अवरुद्ध

काठमाण्डौ - पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गए राति त्यस क्षेत्रमा पानी परेको थियो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जोखिमयुक्त यो सडक खण्डमा लेदोसहित पहिरो झर्ने र गाडीको आवागमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ । पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । यस्तै मेची राजमार्गको रोङ गाउँपालिका–४ इलाम–झापा सीमा क्षेत्रमा ढिस्को र दुई वटा रूख ढलेर सडक अवरुद्ध छ ।

बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । सडक खण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 

प्रकाशित मिति:
थप समाज