नेभिगेशन
महिला उद्यमी

घरको घेराभित्रबाट उद्यमको उचाइसम्म

काठमाण्डौ - ललितपुर जावलाखेलकी अञ्जु थापा भण्डारीको दैनिकी लामो समयसम्म घरधन्दामै सीमित थियो । चार वर्षअघि वडा कार्यालयको समन्वयमा उद्यमशीलता तालिम पाएपछि उहाँ र टोलका अरु महिलाले मिलेर ‘शान्ति चोक महिला समूह’ गठन गर्नु भयो, जसमा हाल झन्डै ९० जना महिला आबद्ध हुनुहुन्छ ।

तालिमपछि ४–५ जना दिदीबहिनीले झोल साबुन, सरफ, पोते, बत्ती, धूप र कपडाका झोला बनाउन थाल्नु भयो । भाँडा माझ्नेदेखि लुगा धुनसम्म काम लाग्ने बहुउपयोगी झोल साबुनको माग अहिले बजारमा उच्च छ । वडा कार्यालयले जावलाखेल र भनिमण्डलको साप्ताहिक हाटबजारमा स्टलको व्यवस्था मिलाइदिएको छ, जहाँ उहाँहरू महिनाको एक–दुई पटक सामूहिक रूपमा सामान उत्पादन र प्याकिङ गर्नुहुन्छ ।
केवल ५–६ हजार रुपैयाँको सानो लगानीबाट शुरु भएको यो व्यवसायले हरेक सदस्यलाई महिनामा ८, ९ सय रुपैयाँदेखि कहिलेकाहीँ दुई महिनामा ३–४ हजार रुपैयाँसम्म खुद नाफा दिन्छ । ‘ठूलो घर त यसले चल्दैन,’ अञ्जु भन्नुहुन्छ, ‘तर श्रीमान् वा अरूसँग हात थापेर पैसा माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आफ्नै कमाइ खल्तीबाट निकालेर खर्च गर्दा र छोराछोरीलाई तुरुन्तै दिन पाउँदा मिल्ने आत्मसन्तुष्टि शब्दमा बयान गर्न सकिन्न ।’
मिना खड्काको जीवनको १० वर्ष विदेशमा बित्यो — विवाहअघि पाँच वर्ष र विवाहपछि श्रीमानको डिपेन्डेन्ट भिसामा पाँच वर्ष । त्यहाँ रहँदा पनि साथीभाइलाई आफ्नै हातले परिकार बनाई खुवाउने उहाँको रहर कायमै थियो । नेपाल फर्किएपछि झण्डै सात वर्ष घरधन्दामै बिते । तर भान्छाप्रतिको रुचिलाई उहाँले सीमित राख्न चाहानुभएन ।
शुरुमा आफन्त र छिमेकीलाई स्वाद चखाउन बाँड्ने गरेको अचारले पाएको प्रोत्साहनले नै उहाँलाई व्यवसायतर्फ डोर्यायो । कुनै औपचारिक तालिमबिना, केवल आफ्नै अनुभवका भरमा उहाँले कुखुराको अचार, सिद्रा माछाको अचार, मुला–लसुन–खुर्सानी, गुन्द्रुक–भटमास र टिमुरको छोप बनाउन थाल्नुभयो । अहिले चिकेन अचार र मिक्स फ्रुट्स लड्डुको माग निकै छ ।
विज्ञापनका लागि समय नपाए पनि गुणस्तरकै भरमा बोलेरै मार्केटिङ भइरहेको छ — मेडिसिटी हस्पिटल, ग्लोबल आईएमई बैंक र स्थानीय स्कुलका कर्मचारीसम्म उहाँको उत्पादन पुगेको छ । घरको एउटा सानो कोठाबाट शुरु भएको यो व्यवसायले मासिक झन्डै ३० हजार रुपैयाँको कारोबार दिन्छ । ‘शुरुमा घाटा लाग्छ कि भन्ने डर थियो, आफन्तले नै पछाडि कुरा काट्थे,’ मिना सम्झनुहुन्छ, ‘तर अपरिचित मानिसले मेरो सीपको कदर गरे । काममा व्यस्त भएपछि मानसिक शान्ति मिलेको छ ।’
खोटाङबाट हेटौँडा हुँदै विगत १०–११ वर्षदेखि ललितपुरको धापाखेललाई कर्मथलो बनाएकी अम्बिका पोखरेल एक दृढ कृषक उद्यमी हुनुहुन्छ । जावलाखेलको हाटबजारमा आफैंले उत्पादन गरेको रातो, रसिलो स्ट्रबेरी बेच्ने उहाँले लेलेमा ५२ रोपनी र खोकनाको सिकालीमा ३० रोपनी गरी कुल ८२ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गरिरहनु भएको छ । वार्षिक १०–१५ लाख रुपैयाँ त उहाँले केवल जग्गा भाडामै तिर्नुपर्छ, ।
बीऊ–बिरुवाका लागि अरूमाथि निर्भर नरहने र आफैं आधुनिक प्रविधिबाट बिरुवा उत्पादन गरी वर्षमा तीन लटसम्म खेती गर्ने उहाँको रणनीति नै सफलताको मुख्य आधार हो । स्ट्रबेरीसँगै क्याप्सिकम, गोलभेंडा, अकबरे खुर्सानी र विभिन्न मुन्टा पनि ठूलो परिमाणमा उत्पादन हुन्छ । फार्ममा ४ जना स्थायी कर्मचारीसँगै दैनिक १०–१५ जना स्थानीय महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् — पुरुषभन्दा महिलालाई कृषि कार्यमा प्राथमिकता दिने उहाँको नीति छ ।
कोभिडकालको कठिन समयमै भाटभटेनी र बिग मार्ट जस्ता सुपरमार्केटले गुणस्तर हेरी उत्पादन लिइदिएको सम्बन्ध अहिलेसम्म कायम छ । मासिक झण्डै एक लाख रुपैयाँ भन्दा बढी खुद आम्दानी हुने भए पनि रोगव्याधी र प्राकृतिक प्रकोपको जोखिम सधैं रहन्छ । तर ‘नहुँदा आत्तिनु हुन्न, हुँदा मात्तिनु हुन्न’ भन्ने दर्शनमा विश्वास राख्ने अम्बिका आफूलाई गर्वका साथ ‘किसानकी छोरी’ भन्नु हुन्छ र फुर्सदको दिन फार्ममै गएर कुटोकोदालो गर्नु हुन्छ ।
खोकनाकी रत्नमाया महर्जन झम्सिखेलको ‘द भिलेज क्याफे’ सँग लामो समयदेखि आबद्ध हुनुहुन्छ — सन् २०१३ मा स्थापित यो क्याफेको विशेषता किचनदेखि म्यानेजमेन्टसम्म सबै विभागमा महिला मात्र कार्यरत रहनु हो । क्याफेमा अहिले २० जना महिला छन् ।
बाल्यकालमा पढ्ने अवसर नपाई खेतीपाती र घरधन्दामै सीमित रहेकी रत्नमायाले पछि जीविकोपार्जनका लागि गलौँचा बुन्ने, टोपी र स्विटर बुन्ने काम गर्नु भयो, र सीप सिक्न भारतको अहमदाबादसम्म पुग्नुभयो । ‘सब नेपाल’ संस्थाको माध्यमबाट ‘द भिलेज क्याफे’ मा आबद्ध भई कुकिङ तालिम लिएपछि उहाँको जीवनले नयाँ मोड लियो । अहिले उहाँ योमरी, बारा, चटामरी र समयबजी जस्ता नेवारी परिकार बनाउन खप्पिस हुनुहुन्छ ।
घरको काम, भान्छा र खेतबारी सबै सकेर मात्र क्याफे आउने उहाँ र साथीहरू हप्ताको ३–४ दिन, दैनिक ८ घण्टाको लचिलो ‘रोटेसन’ प्रणालीमा काम गर्नुहुन्छ । पहिला जहाँ जान वा जे किन्न पनि बुढासँग पैसा माग्नुपथ्र्यो, उहाँको मुड हेर्नुपर्थ्यो,’ रत्नमाया भन्नुहुन्छ, ‘अहिले आफैं कमाएको पैसा आफ्नै खल्तीमा हुन्छ, कसैलाई नसोधी घुम्न जान सक्छु ।’ पैसाभन्दा पनि नयाँ साथी भेटेर सुख–दुःख साटासाट गर्न पाउनुमै उहाँलाई वास्तविक खुशी मिल्छ ।
आज धेरै दक्ष र पढेलेखेका महिला पनि देशमा भविष्य नदेखेर विदेशिइरहेका बेला यी चार महिलाको अनुभवले फरक कुरा भन्छ । अम्बिकाको भनाइमा, आर्थिक बाध्यताले विदेशिनु स्वाभाविक भए पनि बिरानो भूमिमा दास जस्तै बनेर दुःख पाउनुभन्दा आफ्नै माटोमा पसिना बगाउनु उत्तम हो । रत्नमायाको अनुभवले भने अर्को यथार्थ पनि उजागर गर्छ सरकारी तालिमहरू प्रायः कागज मिलाउनमै सीमित रहन्छन् र उत्पादित सामानलाई बजारसँग जोड्ने काम हुँदैन । पालिकाहरूले तालिमसँगै दिगो बजारीकरणको संरचना पनि तयार पारिदिनुपर्ने उहाँको सुझाव छ ।
अञ्जु, मिना, अम्बिका र रत्नमाया सबैको पृष्ठभूमि र व्यवसाय फरक भए पनि यी चारैको कथाले एउटै कुरा पुष्टि गर्छः कमाइको आकार जतिसुकै सानो होस्, आफ्नै मेहनतले ल्याउने आत्मविश्वास र आत्मसम्मान अतुलनीय हुन्छ । घरेलु जिम्मेवारीको परिधिभित्रै बसेर पनि यी महिलाले आफ्नो सीप र समयलाई पुँजीमा बदलेर देखाएका छन् — र यही नै अरु महिलाका लागि उत्प्रेरणा हो ।

प्रकाशित मिति:
थप विशेष