नेभिगेशन

बर्डफ्लू प्रकोप : किसान र व्यवसायीले के गर्ने ? सरकारले चाहिँ के गर्दैछ ?

नेपालमा पटक पटक बर्डफ्लूको प्रकोप देखिने गरेको छ । २०६५/६६ सालतिर नेपालमा पहिलो पटक बर्डफ्लूको सङ्क्रमण देखिएको थियो । त्यसयता विभिन्न ठाउँमा पटक/पटक सङ्क्रमण देखिंदै आएको छ । गएको चैतमा मोरङमा पुष्टि भएयता यसवर्ष बर्डफ्लूबाट ११ जिल्ला प्रभावित भए । तीमध्ये तराईका ७ जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाण्डौ उपत्यकासहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन । पछिल्लो सङ्क्रमणबाट झण्डै ७७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ । किसानसहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन् ।

सङ्क्रमण देखिए स्वस्थ पन्छी पनि नष्ट गर्नुपर्ने अवस्था
बर्डफ्लूको सङ्क्रमण भेटिएका ठाउँमा सङ्क्रमितसँगै स्वस्थ पन्छी पनि नष्ट गरिने हुँदा किसानको ठूलो क्षति हुने गरेको छ । यसको मुख्य कारण सङ्क्रमण थप फैलिन नदिनु र जनस्वास्थ्यको विषय जोडिनु हो । यसपटक पनि यो सङ्क्रमणबाट करोडौँ रुपैयाँको क्षति भैसकेको छ । यसवर्ष शुरुआतमा देखिएको मोरङसहित झापा, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लुको सङक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ । तराईका ती ७ जिल्लामा नियन्त्रण हुँदा काठमाण्डौ उपत्यकाभित्रका तीन जिल्ला अनि काभ्रेमा चाहीँ रोकथाम भैसकेको छैन । कृषि मन्त्रालय, मातहतको निकाय पशु सेवा विभागलगायतबाट रोग नियन्त्रणको पहल भैरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा.मनोजकुमार शाही बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बर्डफ्लू किसान वा कुखुरा व्यवसायीको मात्रै समस्या होइन । यो जनस्वास्थ्य, पशु स्वास्थ्य र देशको अर्थतन्त्रसँग जोडिएको विषय हो । त्यसैले किसानसहित सबै पक्ष जिम्मेवार र चनाखो हुन आवश्यक छ ।’

किसान र व्यवसायीले के गर्ने ?
किसानले आफ्नो फार्ममा कुखुरा बिरामी भए या धेरैको संख्यामा मर्न थालेमा समयमै नजिकको पालिका, कृषिका प्राविधिक वा अन्य निकायमा जानकारी दिने, बर्डफ्लूको शंका लागेमा सम्बन्धित निकायलाई खबर गर्ने र आवश्यक सुरक्षाका उपाय अपनाउने हो भने बर्डफ्लुको जोखिम नियन्त्रण गर्न सकिन्छ । विश्व पशु स्वास्थ्य संगठनका अनुसार सन् १९७८ मा पन्छीमा मात्र देखिएको बर्डफ्लु पछि सन् १९९७ मा मानिसमा पहिलो पटक देखा परेको थियो । त्यसैले यसबाट पन्छी मात्र होइन, मानिस, गाई, बिरालो, कुकुर, बाघ, सिंह, स्याल, चिल, सुँगुरलगायत पनि प्रभावित हुन थालेपछि झन् चासो र चिन्ता बढ्दो छ । डा.शाहीका अनुसार सङ्क्रमणको जोखिम अनि हुनसक्ने महामारीबाट बच्ने मुख्य उपाय भनेको भाइरसलाई छिटो नियन्त्रणको विधिमार्फत पन्छीमा सीमित राख्ने र अन्य पशु र मानिसमा सङ्क्रमण हुन नदिई म्युटेसन वा स्वरूप परिवर्तनलाई न्यूनीकरण गर्नु हो ।

पन्छीमा झण्डै शतप्रतिशत मृत्युदर
पन्छीमा बर्डफ्लूका कारण झण्डै शतप्रतिशत मृत्युदर छ । हालसम्म मानिसबाट मानिसमा बर्डफ्लू सङक्रमण भएको प्रमाण भेटिएको छैन । अहिलेसम्म विश्वभर झण्डै ९ सय जनामा बर्डफ्लूको सङक्रमण भएको र तीमध्ये झण्डै ५० प्रतिशतको ज्यान भएको देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा २०६५ सालपछि अहिलेसम्म झण्डै ३४ लाख पन्छी र ५५ लाख अन्डा नष्ट गरिएको तथ्याङ्क छ । बर्डफ्लूका कारण नेपालमा अहिलेसम्म एक जनाको मात्रै ज्यान गएको छ । 

बर्डफ्लू रोग नियन्त्रण नियमावली, २०७८ अनुसार नेपालमा यो रोग फैलिएपछि नियन्त्रणको काम गरिन्छ । यसका लागि सङक्रमित पन्छी मात्र मारिँदैन, वरपर पन्छीसँग लसपस भएका वा हुन सक्ने सबै पन्छी, अण्डा, दानालगायत वस्तु नष्ट गरी निसङ्क्रमण गरिन्छ । कृषि मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. शाहीका अनुसार अहिले काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रे बर्डफ्लूका लागि ‘हटस्पट’ जस्तै छन् । ललितपुरको सदर चिडियाखानामा समेत यसपटक बर्डफ्लू देखिएको थियो । यसअघि प्रभावित जिल्लामा सङ्क्रमण नियन्त्रणका लागि ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलो दाना नष्ट गरिएको छ । यो किसानले भोगेको क्षति भयो, तर कुखुराजन्य व्यवसाय, कुखुरा ओसारपसार गर्ने, बेच्ने तथा उपभोग गर्ने उपभोक्तासम्म प्रभावित भएका छन् ।

बर्डफ्लूकै त्रासका कारण कतिपय उपभोक्ताले कुखुराको मासु र अण्डा ढुक्कसँग उपभोग गर्न नसकेको पनि अवस्था छ । मासु काट्ने वा बेच्नेले मापदण्डको पालना गर्नु अति आवश्यक छ । अनि उपभोक्ताले पनि कुखुराको मासु र अण्डा निर्धक्कसँग खान सक्ने तर राम्रोसँग पकाएको या उमालेको भने हुनुपर्ने वरिष्ठ पशु चिकित्सक डा.शाही बताउनुहुन्छ ।

प्रभावकारी खोप र औषधि छैन
अहिलेसम्म बर्डफ्लूको न प्रभावकारी औषधि छ, न त खोप । त्यसकारण जहाँ यो सङ्क्रमण देखिन्छ त्यहाँ तत्काल पन्छी अनि पन्छीजन्य पदार्थ नष्ट गर्नुको विकल्प छैन । यसवर्ष देशका पूर्व र मध्य क्षेत्रमा सङ्क्रमण देखिए पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सुरक्षित नै छ । तर पश्चिम क्षेत्रमा पनि जुनसुकै बेला रोग पुग्न सक्ने जोखिम छ । ती क्षेत्रमा सङ्क्रमण पुग्न नदिन ठाउँठाउँमा अस्थायी क्वारेन्टीन चेकपोष्ट बनाउने र कार्यान्वयन गर्ने गरी छलफल अघि बढेको कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक एवं नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. शाहीले जानकारी दिनुभयो ।

बर्डफ्लूबाट हुने क्षति र त्यसको रोकथामका लागि कुखुरापालक किसान, ओसारपसारमा संलग्न मानिस तथा पोल्टी क्षेत्रका व्यवसायी सजग हुनुपर्ने खाँचो छ । जङ्गली काग अनि चराचुरुङ्गीमा पनि बर्डफ्लू देखिएको अवस्थामा उनीहरू जतासुकै जान सक्ने भएकाले आफ्नो घर छेउछाउ त्यस्ता पन्छी मरेको देखिए तत्कालै सम्बन्धित निकायमा जानकारी गराउन उहाँको आग्रह छ । 

बर्डफ्लू थप फैलिन नदिन के गर्ने ?
पशु सेवा विभागले व्यवसायी र किसानलाई नआत्तिन, तर आफ्नो फार्ममा उच्च ‘बायोसेक्युरिटी’ अर्थात् (जैविक सुरक्षा) अपनाउन अनुरोध गरेको छ । विभागले अहिले मुख्य चार जिल्लालाई निगरानीमा राखेको र नियन्त्रणका लागि आवश्यक प्रयास भैरहेको जनाएको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ ।

सङ्क्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छी र पन्छीजन्य बस्तु नष्ट गर्ने अभियान चलिरहेको छ । त्यस्तै सङक्रमण थप फैलिन नदिन र पन्छी फार्मलाई सुरक्षित राख्न सबैभन्दा पहिले फार्मभित्र अनावश्यक व्यक्ति र गाडीलगायत प्रवेशमा पूर्ण रोक लगाउन विभागले आग्रह गरेको छ । यदि फार्म परिसरमा प्रवेश गराउनैपर्ने अवस्था आए अनिवार्य रूपमा निःसंक्रमण गरेर मात्र प्रवेश गराउनुपर्ने विभागको निर्देशन छ ।

कुखुरा फार्ममा काम गर्ने, मासु काट्ने वा बेच्ने व्यक्तिहरूले मास्क, पन्जा र बुट प्रयोग गर्ने तथा कामपछि साबुनपानीले राम्रोसँग हातखुट्टा धुने गरे सङ्क्रमणको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै फार्ममा बर्डफ्लू देखियो भने हतारमा फेरि नयाँ कुखुरा थप्नुहुँदैन । रोग नियन्त्रण भएको कम्तीमा ४२ दिनसम्म कुनै नयाँ सङक्रमण नदेखिएपछि मात्र पुनः पालन शुरु गर्नु सुरक्षित मानिन्छ । 

पोल्टी व्यवसाय तथ्याङ्कमा
नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ अनुसार कुल २२ हजार ९ सय २८ फार्म तथा कृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जसमध्ये २१ हजार १ सय ४ ले मासु, १ हजार ७ सय ६ अन्डा उत्पादन र १ सय १८ ले चल्ला उत्पादन गर्दै आएका छन् । नेपालमा कुखुरा व्यवसायबाट एक वर्षमा ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको मासु उत्पादन भई बिक्री हुने गरेको छ ।

त्यस्तै १४ अर्ब ८२ करोड बराबरको अन्डा, १० अर्ब २२ करोड बराबरको चल्ला र १ अर्ब बराबरको कुखुराको मल उत्पादन भई बिक्री भएको तथ्यांक छ । पशु सेवा विभागका डा. उपाध्यायका यसवर्ष बर्डफ्लूबाट प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन अहिले काम अन्तिम चरणमा पुगेको छ । झण्डै ७७ करोड बराबरको क्षति भएकोमा अर्थ मन्त्रालयबाट राहतका लागि ५२ करोड रुपैयाँ निकासा भैसकेको छ ।

प्रकाशित मिति:
थप विशेष