नेभिगेशन

केही ठाउँमा ठूलो वर्षा, विस्थापित सुकुम्बासीहरु बसेको होल्डिङ सेन्टर डुबानमा

काठमाण्डौ — गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

अरु ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ ।

काठमाण्डौको बागमती नदीमा बाढी आउँदा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन् ।

उनीहरुका सरसामान पानीले डुबाएको छ । अहिले पानी कम भएपछि उद्धारको काम भएको छ । सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ ।

आज पनि देशका धेरै ठाउँमा भेलबाढी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति:
थप समाज