नेभिगेशन

घण्टौ जाम हुने नवलपरासी दाउन्नेको सास्ती हट्यो,  सहज बन्न थाल्यो नारायणघाट–बुटवलको यात्रा

काठमाण्डौ — सामान्य पानी पर्दा पनि गाडी चिप्लिएर घण्टौँ जाम हुने नवलपरासिको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो ।

यसअघि दाउन्नेखण्डमा यात्रु घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । अहिले विगतमा जस्तो यात्रुले ठूलो सास्ती भोग्नुपरेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउनदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको थियो ।

दाउन्ने क्षेत्रमा सहजरुपमा गाडी चल्न थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रु तथा चालकले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । विगतभन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाडीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभएको छ ।

पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो ।

आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
थप विशेष