काठमाण्डाै – काठमाण्डौको माइतीघर क्षेत्रमा हरेक दिन उत्तिकै चहलपहल हुन्छ । यही बाटो भएर कोही कार्यालय र अरू कामका लागि हिँड्छन् । कोही धर्ना–प्रदर्शनमा सहभागी हुन्छन् । यही भीडभाडको बीचमा एउटा रुखमुनि चिसो भुइँमा ४२ वर्षीया लक्ष्मी सिंह धर्नामा बसिरहनुभएको छ ।
उहाँ हरेक दिन आएर यहीँ बस्नुहुन्छ । बर्खाकाे बेला धर्नामा बसेका अरूसँग पाल र छाताको ओत छ, तर लक्ष्मीसँग न छाता छ, न ओत । बिहान आउनुहुन्छ र साँझ परेपछि फर्किनुहुन्छ । बीचको समयमा उहाँको काम एउटै छ—बाँच्नका लागि भीख माग्नु ।
उहाँलाई थाहा छ, माइतीघरमा धर्ना बसे आफ्नो आवाज सरकारसम्म पुग्छ रे, तर त्यो आवाज कसरी सरकारसम्म पुग्छ भन्ने थाहा छैन । धर्नामा बसेकाहरूमध्ये धेरैको कोही न कोही आफन्त छन्, कसैलाई संघ–संस्थाको साथ छ । तर लक्ष्मीको साथी भने त्यही एउटा रुखको फेद र चिसो भुइँ हो र पछाडि गुड्ने हजारौँ गाडी मात्र छन् ।
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर २ बाट आएकी लक्ष्मीको कथा रोग, गरिबी, पारिवारिक विच्छेद र राज्यको उपेक्षासँग जोडिएको छ ।
लक्ष्मीलाई ७–८ वर्षअघि मिर्गौलासम्बन्धी समस्या देखियो । शुरूका केही वर्ष औषधिले थेग्यो, तर बिस्तारै अवस्था बिग्रँदै गयो, र अहिले उहाँ डायलासिस नगरी बाँच्नै नसक्ने अवस्थामा पुग्नुभएको छ ।
लक्ष्मीलाई रोगको लक्षण देखिन थालेपछि श्रीमानले साथ दिनुको सट्टा उल्टै अपहेलना गर्न थाले । उहाँकै शब्दमा, श्रीमानले ‘जाँड खाएर पिट्ने’, ‘मानसिक यातना दिने’ काम गरे । अन्ततः श्रीमानसँग सम्बन्ध टुट्यो । घरजग्गा जे थियो, सबै श्रीमानले आफ्नो नाममा लगे । लक्ष्मीका हातमा केही परेन—न घर, न जग्गा, न सहारा ।
आफ्नो कथा भनिरहँदा लक्ष्मीको आँखाबाट बरर आँसु झर्याे, गाला र चिउँडो हुँदै आफ्नै काख रुझाउने गरी । दुवै हातले ज्याकेटको फेरो समातेर आँसु पुछ्नुभयो, तर आँसु रोकिएनन् ।
उहाँले फेरि आफ्नो कथा जोड्नुभयो , ‘जेठो छोरो श्रीमानसँगै गयो । म १६ वर्षको कान्छोसँगै बस्छु ।’
रोगले पिल्सिएको शरीर, देब्रे पाखुराको ज्याकेटको बाहुला माथि सार्दा नाडीमा सुन्निएका नसा पानीको पाइपजस्तै मोटा भइसकेका छन् । खुट्टा पनि फुलेका छन् । लक्ष्मीको उपचार र गुजाराको जिम्मा अहिले पूर्णरूपमा उहाँको १६ वर्षीय छोराको काँधमा छ । छोराले दिनभर काम गरेर महिनाको जम्मा १० हजार रुपैयाँ कमाउँछन्, त्यसमध्ये ३ हजार कोठाभाडामै जान्छ—एउटा गाउँले दाजुभाइसँग साझा गरेको सानो कोठाको भाडा आधा–आधा तिर्नुपर्छ ।
बाँकी पैसाले न औषधि किन्न पुग्छ, न पेट भरिन्छ । तरकारी किन्न पैसा नहुँदा कहिलेकाहीँ भात मात्रै खाएर बस्नुपर्छ । लक्ष्मी थप्नुहुन्छ, ‘मै अभागी बिरामी भएकैले छोराले कक्षा ९ सम्म मात्र पढ्न पायो । मेरो स्वास्थ्य बिग्रिँदै गएपछि पढाइ छाड्नुपर्याे । आमाको स्थिति यस्तो भएपछि कसरी पढोस् । पैसै छैन, विना पैसाको कसरी पढ्ने ?’, लक्ष्मी प्रश्न गर्नुहुन्छ जसको उत्तर उहाँसँग छैन ।
लक्ष्मीको उपचार खर्च महिना–महिनामा फरक पर्छ । अवस्था सामान्य हुँदा २ हजार २ हजार ५०० रुपैयाँमै पुग्छ, तर बिग्रिँदा २०–२५ हजार पनि लाग्छ, कहिलेकाहीँ आईसीयूसम्म पुर्याउनुपर्छ । नियमित औषधिकै लागि महिनाको ७–८ हजार चाहिन्थ्यो, रकम नभएपछि त्यो औषधि नै पूर्णरूपमा बन्द गर्नुपर्याे ।
स्वास्थ्य बीमा त छ, तर महिनाको २५ हजार रुपैयाँको मात्र सेवा आउने त्यो बीमाले वास्तविक खर्च धान्दैन । एक पटक जाँच गराउँदा बीमाले ‘काम गरेन’ भनेको सुनेपछि उहाँले जाँच गराउनै छाडिदिनुभयो । ‘अब त्यो सबै निःशुल्क गरेर केही राहत दिए त हुन्थ्यो, यस्तो दुःखी गरिबलाई’, उहाँ भन्नुहुन्छ ।
एउटा भावुक पक्ष यो पनि छ—लक्ष्मीका छोराले आमालाई आफ्नो मिर्गौला दिन्छु भन्नुभएको छ । त्यसका लागि रगत जाँच पनि भइसक्यो । तर डाक्टरसँग बसेर परामर्श र आवश्यक जाँचहरू गर्दा मात्रै १५–१६ लाख रुपैयाँ लाग्ने कुरा थाहा भएपछि प्रक्रिया त्यहीँ अड्कियो । रगत जाँचबाहेक अरू कुनै जाँच गराउने आर्थिक हैसियत लक्ष्मीसँग छैन ।
लक्ष्मीका अनुसार उहाँ वडा र पालिका कार्यालयमा पटक–पटक धाउनुभयो, फोन पनि गर्नुभयो । महिनाको ५ हजार रुपैयाँ आउने भनिएको सहयोग रकम पनि उहाँलाई दिइएन ।
एक पटक बिरामी अवस्थामै मोटरसाइकलमा गाउँ पुगेर स्वास्थ्य उपचारका बिलहरू पेस गर्दा गाउँपालिका अध्यक्षले नै ‘यो पाटन अस्पतालका बिल ल्याएर के गर्नुहुन्छ ?’ भनी प्रश्न गरेको उहाँ सम्झनुहुन्छ । ‘अरूलाई त सहयोग गर्नुभयो, मलाई सहयोग गर्नुभएन,’ उहाँको गुनासो छ ।
स्वास्थ्य मन्त्रालयसम्म पुगेर आफ्नो अवस्थाबारे राख्ने चाहना उहाँमा छ, तर पास चाहिन्छ भनेर छिर्न दिएनन् । ‘मलाई पास कसले दिन्छ र ?’, उहाँले भन्नुभयो ।
लक्ष्मी बिहान कोठाबाट खाना खाएर निस्किनुहुन्छ र दिनभर माइतीघरको त्यही ठाउँमा बस्नुहुन्छ, साँझ मात्र कोठा फर्किनुहुन्छ । दिनभर पानी परोस्, घाम लागोस् वा गर्मी होस्, उहाँको ठाउँ उही रुखको छायाँ हो । कहिलेकाहीँ बाटो हिँड्नेहरूले दिने ५–१० रुपैयाँ जम्मा पारेर चामल–दाल किन्नुहुन्छ, त्यही खानुहुन्छ । गाडीभाडा तिर्नकै लागि एक दिन एक पत्रकार दाइसँग २० रुपैयाँ मागेर काम चलाएको उहाँले सुनाउनुभयो ।
झन्डै ३ महिनादेखि उहाँ यसरी नै चिसो, पानी र घामको बीचमा सडकमा बसिरहनुभएको छ । ‘जीवन र मृत्युसँग लडेर’ भन्ने शब्द उहाँको मुखबाट पटक–पटक निस्कन्छ जसले उहाँको बाँकी दिनहरूको वास्तविकता व्यक्त गर्छ ।
आफ्नो कथा सुनाउँदा लक्ष्मी बारम्बार रुनुभयो, तर कसैलाई दोष थोपर्ने वा ढाँट्ने चाहना उहाँमा देखिएन । उहाँको माग सामान्य छ–कोही जनप्रतिनिधिले एक कप चियाको मूल्य छाडेर सहयोग गरे पनि आफू बाँच्ने उहाँको विश्वास छ । ‘सबै सांसदहरूले १–१ कप चियाको पैसा छुट्याएर मलाई सहयोग गर्दा पनि म बाँच्थेँ होला नि है ?’, उहाँले आशा व्यक्त गर्नुभयो ।
आफ्नो अस्तित्वको लडाइँ लड्दै १६ वर्षे छोराको भविष्यको चिन्ता बोकेर, लक्ष्मी सिंह अझै त्यही रुखको छायाँमा बसिरहनुभएको छ, राज्य, समाज र संघ–संस्थाहरूको ध्यान पर्खँदै ।
उहाँ प्रश्न गर्नुहुन्छ, ‘एउटा रोगी आमाले आफ्नो छोराका लागि बाँच्न पाउनु के अपराध हो र ?’, तर जवाफ अझै कतै भेटिएको छैन ।
विपन्न बिरामीलाई उपचार गर्न भनेर सरकारले यसपालिदेखि सबै अस्पतालमा निःशुल्क शय्या दिने भनेको छ, तर हाँलाई यसबारे थाहा छैन । ‘हामीलाई कसले भन्छ र थाहा होओस्’, लक्ष्मीले खुइय सुस्केरा हाल्नुभयो र कसैबाट सहयोग पाइन्छ कि भनेर वरपर हेर्दै सडकमा बस्नुभयो ।