नेभिगेशन

सबै विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति

काठमाण्डाै – सबै विश्वविद्यालय तथा अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना निकाल्दै आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन् ।

विश्वविद्यालयहरूकाे परिपत्रअनुसार शैक्षिक सत्र २०८३/८४ का लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयबाट स्वीकृत कुल सिट सङ्ख्याको कम्तीमा १० प्रतिशत सिट जेहेनदार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था छ । ती सिटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्तिसम्बन्धी कार्यविधिअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिनेछ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने निर्णयले शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । उहाँले यसअघि काठमाण्डाै महानगरपालिकाको विद्यालय प्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छात्रवृत्ति व्यवस्थाको अनुभवलाई आधार बनाएर विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गरिएको उल्लेख गर्नुभयो ।

यसअघि गएको चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन र नियमावलीबमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि आवश्यक कानूनी कारबाहीका लागि पालिसँग समन्वय र सहजीकरण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरेको थियो ।

प्रकाशित मिति:
थप समाज