स्पेनले उपाधि उचालेर विश्वकप २०२६ को अन्तिम पाना बन्द गर्याे तर यो संस्करणले फुटबलका लागि नयाँ युगको ढोका खोलिदिएको छ । ४८ टोली सहभागी पहिलो विश्वकपले कीर्तिमानी दर्शक, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र सानो देशको सहभागिताले नयाँ सन्देश दिएको छ ।
सोमवार बिहान साविक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि जितेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा स्पेनले १–० गोलले अर्जेन्टिनालाई पराजित गरेको हो ।
विश्वकपको यो संस्करण अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका थिए । ३२ टोलीले प्रतिस्पर्धा गर्दै आएको विश्वपकमा पहिलो पटक ४८ टोली सहभागी भएका थिए । बढेको टोली संख्या, १०४ खेलको विस्तारित ढाँचा र तीन महादेशीय क्षेत्रलाई जोड्ने आयोजनाले विश्वकपलाई अझ व्यापक बनायो ।
तीन आयोजक देशका १६ शहरमा रहेका १६ रंगशालामा प्रतियोगिताहरू भएका थिए । अमेरिकामा ११, मेक्सिकोमा ३ र क्यानडामा २ रंगशालामा खेलहरू सम्पन्न भए । मेक्सिको सिटीको एज्टेका स्टेडियमबाट शुरू भएको २०२६ को विश्वकप फुटबल यात्रा अमेरिकाको न्यु याेर्क न्यु जर्सी रङ्गशालामा पुगेर समापन भयो ।
२०२६ को विश्वकपको सबैभन्दा ठूलो परिवर्तन नै सहभागी टोली संख्या वृद्धि थियो । ३२ टोलीको परम्परागत ढाँचाबाट ४८ टोलीमा विस्तार भएपछि धेरै राष्ट्रले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रवेश गर्ने अवसर पाए ।
यस संस्करणमा युरोपबाट १६, अफ्रिकाबाट १०, एशियाबाट ९, उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट ६, दक्षिण अमेरिकाबाट ६ र ओसियानाबाट १ टोली सहभागी भए । टोली संख्या बढ्नु आफैँमा पर्याप्त सफलता होइन भन्ने बहस पनि यस विश्वकपसँग जोडियो । तर नयाँ ढाँचाले साना राष्ट्रलाई पनि विश्वस्तरीय अनुभव लिने अवसर प्रदान गरेको देखियो ।
अर्को महत्त्वपूर्ण पक्ष दर्शक सहभागिता रह्यो । लाखौँ समर्थकले रंगशालामै पुगेर खेल हेरे र विश्वकप इतिहासकै उच्च उपस्थितिमध्ये एक कीर्तिमान बनेको फिफाले जनाएको छ । तीन देशमा फैलिएको आयोजना र विश्वभरबाट आएका समर्थकले प्रतियोगिताको व्यावसायिक तथा सांस्कृतिक प्रभावलाई अझ बलियो बनायो । फिफाका अनुसार ६८ लाख १० हजार ९६६ दर्शकले मैदानबाट खेलको प्रत्यक्ष अवलोकन गरे ।
खेलको गुणस्तरसँगै चर्चा मापन गर्ने अर्को आधार बन्यो गोल संख्या । १०४ खेलबाट ३०८ गोल भए जसले प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल हुने संस्करणमध्ये एक बनायो । समूह चरणमै २१५ गोल भएका थिए । नकाउट र प्रि–क्वार्टरफाइनलमा थप ६५ गोल भएका थिए र फाइनलसम्म आइपुग्दा गोल संख्या ३०८ पुग्यो । धेरै टोलीले रक्षात्मक खेलभन्दा बल नियन्त्रण, तीव्र आक्रमण र उच्च दबाव शैलीलाई प्राथमिकता दिए । यस शैलीले दर्शकलाई रोमाञ्चक अनुभव दिलायो ।
विश्वकप २०२६ को अन्तिम अध्याय स्पेनको नाममा लेखियो । स्पेनको सफलताको आधार केवल गोल गर्ने क्षमतामात्र थिएन । खेल नियन्त्रण गर्ने शैली, गोल रक्षा गर्ने क्षमता र सामूहिकता थियो । स्पेनका मिडफिल्डर रोड्रीले मैदानको मध्य भागबाट खेल सञ्चालन गर्दै टोलीलाई सन्तुलित बनाए । विपक्षीको आक्रमण रोक्ने र खेलको गति नियन्त्रण गर्ने उनको क्षमताले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्यो । त्यसकै आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बल जिते । स्पेनका उनाइ सिमोन उत्कृष्ट गोलकिपर बने भने युवा खेलाडी पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरे ।
त्यस्तै फ्रान्सका किलियन एम्बाप्पे विश्वकप २०२६ का सर्वाधिक चर्चित खेलाडीमध्ये एक रहे । उनले १० गोल गर्दै गोल्डेन बुट जिते । तीव्र गति, उत्कृष्ट फिनिसिङ र निर्णायक समयमा प्रभाव पार्ने क्षमताले उनलाई प्रतियोगिताको मुख्य आकर्षण बनायो ।
अर्जेन्टिनाका लियोनेल मेसीले ३९ वर्षको उमेरमा पनि आफ्नो प्रभाव कायम राखे । उनले प्रतियोगिताभर ८ गोल गरे । अनुभव, आवश्यक परेको समयमा गोल गर्ने क्षमता र नेतृत्व क्षमताका कारण उनले अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म पुर्याउन भूमिका खेले ।
नर्वेका एर्लिङ हालान्ड, इंग्ल्यान्डका जुड बेलिंघम र ह्यारी केन तथा फ्रान्सका उस्मान डेम्बेलेले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको स्तर माथि उठाए । हालान्ड र बेलिंघमले ७/७ गोल गरे । केन र डेम्बेलेले समान ६/६ गोल गरे ।
विश्वकप २०२६ को अर्को ठूलो कथा युवा खेलाडीहरूको उदय रह्यो र स्पेनका लामिन यामालले आफूलाई विश्व फुटबलको सम्भावित नयाँ स्टारका रूपमा स्थापित गरे । कम उमेरमै परिपक्व खेल देखाउँदै उनले टोलीको आक्रमण निर्माणमा प्रभावशाली भूमिका खेले ।
त्यस्तै केप भर्डेका गोलकिपर भोजिन्हाको प्रदर्शनले पनि विशेष चर्चा पायो । भौगोलिक र जनसांख्यिकीय रूपमा सानो देशबाट आएका खेलाडीले विश्वका ठूला टोलीविरुद्ध प्रभाव छोड्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरे । फाइनलमा पुगेका अर्जेन्टिना र स्पेनविरुद्धको खेलमा केप भर्डेको प्रदर्शनले राम्रो चर्चा पाएको थियो ।
यस्तै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो प्रभाव कायम राखे । उनले प्रतियोगितामा ३ गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई सम्झनलायक बनाए ।
फिफाले विश्वकप २०२६ का लागि ठूलो पुरस्कार रकम वितरण गर्याे । विश्वविजेता स्पेनले पाँच करोड डलर, उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख डलर, तेस्रो हुने इंग्ल्यान्डले दुई करोड ९० लाख र चौथो हुने फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर प्राप्त गरेका छन् ।
यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले एक करोड ९० लाख, अन्तिम १६ मा पुग्ने टोलीले एक करोड ५० लाख, समूह चरण पार गर्ने टोलीले एक करोड १० लाख तथा समूह चरणबाट बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर प्राप्त गरेका छन् । यसका अतिरिक्त विश्वकपमा छनोट हुने प्रत्येक टोलीलाई तयारी खर्चका लागि १५ लाख अमेरिकी डलर उपलब्ध गराइएको थियो ।
पुरस्कार रकमले विश्वकपको आर्थिक महत्त्वलाई मात्र देखाउँदैन, यसले सहभागी राष्ट्रहरूको फुटबल विकासमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । छनोट भएका टोलीलाई तयारी खर्च उपलब्ध गराउने व्यवस्थाले कमजोर आर्थिक अवस्था भएका देशलाई पनि प्रतिस्पर्धाका लागि सहयोग पुर्याएको छ ।
फिफा विश्वकप २०२६ केवल एउटा विजेता निर्धारण गर्ने प्रतियोगिता मात्र रहेन । फुटबल केवल परम्परागत शक्ति राष्ट्रहरूको खेल मात्र होइन भन्ने सन्देश पनि दिएको छ । फुटबलको विस्तार, नयाँ पुस्ताको उदय, नयाँ राष्ट्रहरूको आत्मविश्वास र विश्वभरको बढ्दो आकर्षणले यस संस्करणलाई विशेष बनायो ।
स्पेनको रणनीतिक सफलता, एम्बाप्पे र हालान्डको गोल यात्रा, मेसी, ह्यारी केन र रोनाल्डोजस्ता खेलाडीको अनुभव र यामाल, भिनिसियस जुनियरजस्ता खेलाडीको उदय तथा साना राष्ट्रका खेलाडीको प्रभावले विश्वकप २०२६ लाई आधुनिक फुटबलको एक अध्यायको रूपमा स्थापित गरेको छ ।