नेभिगेशन

विश्व टेस्ट च्याम्पियनशिप २०२७ को फाइनल ‘द ओभल’ मा हुने

काठमाण्डाै – सन् २०२७ को आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल इङ्ग्ल्यान्डको ‘द ओभल’ मैदानमा हुने भएको छ ।

गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आउँदो ३ वटा विश्व टेस्ट च्याम्पियनशिप फाइनलको आयोजना गर्ने अधिकार इङ्ग्ल्यान्डलाई दिएको थियो ।

लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल अर्काे वर्षको जुनमा ‘द ओभल’ मा हुने भएको हो ।

इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले आईसीसीसँगको सम्झौताअन्तर्गत यो निर्णय लिएको हो । यस निर्णयको एउटा मुख्य कारण लड्र्सको पिचको गुणस्तरसम्बन्धी चिन्ता हो ।

गएको महिना इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई ’असन्तोषजनक’ ठहर गर्दै आईसीसीले लड्र्सको पिचलाई पहिलो ’डिमेरिट पोइन्ट’ प्रदान गरेको छ ।

एमसीसीले पनि यस समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ ।

विश्व टेस्ट च्याम्पियनशिपमा अहिले अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यद्यपि यी ३ वटै टोलीले अझै कम्तीमा १० टेस्ट खेल खेल्न बाँकी छ ।

सन् २०२५ मा अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद