नेभिगेशन

नेदरल्याण्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली हिजो बेलुका काठमाण्डौ आइपुगेको हो ।

यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग समान २/२ खेलेको थियो । जसमा नेदरल्याण्ड्ससँग ५७ रन र ६ विकेट तथा नामिबियासँग ३ रन र ८ विकेटले पराजित भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स भ्रमणमा चार हारको सामना गर्नुपर्दा समर्थकभन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन् ।

यो नतिजाले लिग–२ को अंकतालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृङ्खलामा राम्रो गर्दै एकदिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन् । नेपालको ३२ खेलमा २४ अंक छ ।

अब नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ । शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानभित्र रहनुपर्ने हुन्छ ।

प्रकाशित मिति:
थप खेलकुद