नेभिगेशन

म्यानमारमा सैन्य ‘कू’ को ५ वर्षपछि पहिलो पटक नेतृ सूचीसँग विदेशी प्रतिनिधिसँग भेट

म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ ।

म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमामा रहेका आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ सान सु चीलाई भेट गर्नुभएको उल्लेख छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सु ची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।

सेनाले सन् २०२१ फेब्रुअरीमा सु ची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो । त्यसपछि म्यानमारमा गृहयुद्ध चर्किएको छ । गएको अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङ नागरिक राष्ट्रपति बनेपछि सु चीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय गरिएको थियो । ८१ वर्षीया सु चीमाथि लगाइएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन् ।

राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्बिरमा सु चीले एक व्यक्तिसँग हात मिलाइरहेको र ‘ह्याप्पी बर्थडे आन्टी सु’ लेखिएको केक काटिरहेको देखाइएको छ । एएफपीले ती तस्बिरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरणमार्फत गरिएको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटिएको जनाएको छ । 

प्रकाशित मिति:
थप विश्व