नेभिगेशन

एक वर्षमा चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै भलिबल संघ

काठमाण्डौ - नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ ।  

भलिबल संघको तालिकाअनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ । संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ । 

काभा महिला च्याम्पियन्स लिग आउँदो भदौ १६ गतेदेखि २२ गतेसम्म काठमाण्डौमा हुने तय भइसकेको छ । नेपालले यसअघि सन् २०२४ र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो । नेपाल सन् २०२४ को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो । 

संघले राष्ट्रिय स्तरमा पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

प्रकाशित मिति:
थप खेलकुद