नेभिगेशन

नेपालमा ६० हजार ‘एनजीओ’ दर्ता, १० हजार मात्रै सक्रिय

काठमाण्डाै – नेपालमा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) हरूमध्ये ठूलो सङ्ख्या निष्क्रिय रहेको पाइएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको आजकाे बैठकमा समाज कल्याण परिषद्का सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार परिषद‍्मा अहिलेसम्म झन्डै ६० हजार एनजीओ आबद्ध भए पनि १० हजार हाराहारी मात्रै सक्रिय छन् । यस्तै दर्ता भएका २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मध्ये अहिले १३६ वटा मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन् ।

बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधिबारे जानकारी दिँदै सदस्य सचिव बुढाले इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले सन् २०२२ मा ५ वर्षका लागि सम्झौता नवीकरण गरी सङ्क्रमणकालीन न्याय र मानव अधिकारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

आईसीजेले अहिले अपाङ्गता भएका महिला तथा बालिकाहरूका लागि ‘इनेबल’ नामक नयाँ परियोजना प्रस्ताव गरेको छ ।

यस्तै एम्नेस्टी इन्टरनेशनल नेपालको आबद्धता २०८३ असारसम्म कायम रहेको र उसले सन् २०२६ का लागि बेलायतेका लन्डनमा रहेकाे सचिवालयको सहयोगमा ५ करोड १५ लाख रुपैयाँभन्दा धेरैको बजेट स्वीकृत गराएको छ ।

अर्को संस्था ह्युमन राइट्स वाच भने २०६४ सालमा आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृति र नवीकरणका लागि नआएको परिषद्ले जनाएको छ ।

यी तीन संस्थाले सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउन दबाव दिएको दाबी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको हो । तर छलफलमा ३ वटै संस्थाका प्रतिनिधि उपस्थित भएनन् ।

परिषद्ले समाज कल्याण ऐनअनुसार नियमन गरिरहेको र कानून उल्लङ्घन गर्ने संस्थाको सम्झौता रद्द वा निलम्बनसम्म गर्न सकिने व्यवस्था रहेको जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति