नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

सरकारले ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य बमोजिम नयाँ ऊर्जा नीति बनाउँदै

काठमाण्डौ – सरकारले आउँदो  १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुनेछ ।

नयाँ नीतिले कुन प्रकृतिका ऊर्जा आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ । अहिले नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता झण्डै चार हजार २०० मेगावाट छ । यसको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको छ ।

यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । तर सरकारले अहिले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो ढाँचा अपर्याप्त हुने निष्कर्षसहित नयाँ नीति बनाउन लागेको हो ।

नयाँ ऊर्जा मिश्रणमा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को हिस्सा निर्धारण गरिनेछ ।

यसअघि तय गरिएको ऊर्जा मिश्रणअनुसार जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको पाँचदेखि १० प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको थियो ।

नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया अघि बढाउन सहज बनाउनुका साथै निजी क्षेत्रको लगानी, आयोजना निर्माण र रोजगारी सिर्जनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
थप राजनीति