नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।

आज न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीले माग गरेबमाेजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएकाे हाे ।

याेसँगै मनाेजकुमार शर्मालाई आईजीपीका रूपमा काम गर्ने बाटाे खुला भएकाे छ ।

गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीकाे जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले कार्कीकाे ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनाेजकुमार शर्मालाई आईजीपीमा नियुक्त गरेकाे थियाे ।

यसपछि दानबहादुर कार्कीले मन्त्रिपरिषद्काे निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मङ्सिर २ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

प्रकाशित मिति:
थप राजनीति