नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा

काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले आफूलाई पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गर्नुभएको छ ।

यसअघि सोमबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरिएको बताउनुभएको थियो । कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मंसिर २ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

प्रकाशित मिति:
थप राजनीति