नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न पालिकालाई आग्रह

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत हिजो आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रभावित नागरिकसम्म ढिलाइ नगरी प्रभावकारी ढङ्गले राहत पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

उहाँले अन्तिम सूची तयारी गरी तत्काल राहत बाँड्न पालिकालाई आग्रह गर्नुभएको छ । उहाँले राहत वितरणका क्रममा कुनै समस्या आएमा सङ्घीय सरकार पालिकासँगै रहने प्रतिबद्धता जनाउनुभएको छ ।

सङ्घीय सरकारले बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासबापत प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । चार जनाभन्दा धेरै सदस्य भएको परिवारको हकमा थप प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले रकम प्रदान गरिनेछ ।

त्यस्तै, मृतकका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ र एउटै परिवारमा थप व्यक्तिको मृत्यु भएको भए प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारले यसअघि नै निर्णय गरेको छ ।

यी निर्णयको कार्यान्वयनका लागि आवश्यक बजेट उपलब्ध गराइसकेको भन्दै मन्त्री तिमिल्सिनाले कुनै नीतिगत वा प्रक्रियागत समस्या भए समाधान गर्न सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताउनुभएको छ ।

प्रभावित क्षेत्रमा थप रकम आवश्यक परेमा सम्बन्धित निकायबाट तत्काल निकासा हुने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
थप राजनीति