नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

बूढीगण्डकी बाढीपीडितको सुरक्षित पुनर्वास र उचित क्षतिपूर्ति दिन सुझाव

काठमाण्डौ – राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति, राहत तथा दीर्घकालीन सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

समितिले बाढीबाट क्षति पुगेका पुलपुलेसाको पुनर्निर्माणलाई तीव्रता दिनुका साथै बूढीगण्डकी आयोजनाका कारण रोक्का रहेका तर मुआब्जा नपाएका जग्गा फुकुवा गरी नागरिकलाई भोगचलन तथा खरिदबिक्री गर्न पाउने व्यवस्था मिलाउन समेत सुझाव दिएको हो ।

गोरखाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि तयार पारेको प्रतिवेदनमाथि समितिमा हिजो छलफल भएको थियो । प्रतिवेदनले नागरिकको जिउधनको सुरक्षा, विपद् व्यवस्थापन र विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र पालिकाबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।

विपद् व्यवस्थापन, विकास निर्माण, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा पालिकालाई पर्याप्त बजेट उपलब्ध गराउन तथा सङ्घीय र प्रदेश सरकारले आवश्यक समन्वय र सहयोग गर्न पनि समितिले सुझाव दिएको छ ।

गएको असोज २५ गते गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको बाढी आएको थियो । बाढीले चुमनुव्री, धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था, क्षतिको प्रभाव, शिक्षा, स्वास्थ्य, मानव अधिकार संरक्षण तथा विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वयबारे जानकारी लिन समितिले गत कात्तिक १७ देखि २० गतेसम्म गोरखाका प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । प्रतिवेदनले गोरखा जिल्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

यसैबीच सभामुख डोलप्रसाद अर्यालले गोरखाको सिउरेनीटारमा निर्माण हुने बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको स्थायी कार्यालय भवन र कर्मचारी आवास भवन तथा बूढीगण्डकी नदीमाथि बन्ने पक्की पुलको हिजो शिलान्यास गर्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति