नेभिगेशन

इन्फान्टिनोप्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिस्कार गर्ने यूईएफएको चेतावनी

युरोपेली फुटबल महासंघ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रति असन्तुष्टि कायमै रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत् रहेको जनाएको छ ।

इंग्ल्यान्डको फुटबल संघ (एफए)ले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि युइएफएको धारणा थप कडा बनेको हो । एफएले इन्फान्टिनोको नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनःनिर्वाचनलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ ।

विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेको थियो । यो प्रस्तावको युइएफएलगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए । व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफीसमेत मागेका छन् ।

यद्यपि, युइएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ । भविष्यमा यस्ता निर्णय दोहोरिन नदिने प्रतिबद्धता र फिफाको नेतृत्वप्रति विश्वास पुनःस्थापित नभएसम्म बहिष्कारको चेतावनी हट्ने अवस्था नरहेको महासंघको भनाइ छ । यस विवादले विश्व फुटबल प्रशासनमा नयाँ तनाव सिर्जना गरेको छ ।

विवाद समाधान हुन नसके आगामी फिफा प्रतियोगितामा केही युरोपेली देशहरूको सहभागितामाथि समेत प्रश्न उठ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद