नेभिगेशन

एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने


काठमाण्डौ — नेपाली बक्सिङ टोलीले २०औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली पर्सि सोमवार भारत जाने भएको छ ।

जापानको आइची–नागोयामा आउँदो असोज ३ गतेदेखि शुरु हुने एसियाली खेलकुदमा ४ पुरुष र ३ महिला मुक्केवाजले खेल्नेछन् । पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन् । खेलाडीले स्पोट्र्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताएका छन् । टोली त्यतैबाट जापान जानेछ ।

पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो । रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन् ।

चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो । प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन् । एसियाली खेलकुदमा समग्रमा बक्सिङले ३ फरक संस्करणमा अहिलेसम्म ६ कांस्य पदक जितेको छ ।

बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औं संस्करणमा पहिलोपटक पदक जितेको थियो । त्यसबेला दलबहादुर राना मगर, तुलबहादुर थापा, सुशिल पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य पदक जितेका थिए । बाँकी २ संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औं संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६ औं एसियाडमा हालका टोलीका प्रशिक्षक मध्येका दीपकले नेपाललाई कांस्य पदक दिलाएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं संस्करणदेखि बक्सिङ पदकविहीन छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले हिजो एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद