नेभिगेशन

ग्यास अभाव कायमै, सरकारको सक्रियताले पनि सुध्रिएन बजार

काठमाण्डौ — उपत्यकासहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ । 

झण्डै दुई हप्ता अघि सुरु भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन् । ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकार्य टोली गठन र अनुगमन तीव्र बनाएको दाबी गरे पनि समस्या समाधान हुन सकेको छैन । निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिन्डरको सट्टा पूर्ण तौलको सिलिन्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो ।

खाली सिलिन्डर एकै पटक बजारमा निस्किँदा र सर्वसाधारणले अत्तालिएर थप ग्यास सञ्चित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेको आयल निगमको भनाई छ । आयल निगमले भारतबाट आयात हुने कोटा बढाएर ५५ हजार टन पुर्‍याएको जनाएको छ । तर ग्यास उद्योग संघका अनुसार कोटा बढे पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै १५ देखि २० दिन लाग्नेछ । 

यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज काठमाण्डौमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ । सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफैँ अनुगमनमा निस्कनुभएको हो । मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो । 

उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अनुमान क्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदुर तथा अप्ठ्यारामा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ ।  

प्रकाशित मिति:
थप समाज