नेभिगेशन
बुधबार, मंसिर २, २०८३

एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह शुरु

काठमाण्डौ – एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह शुरु भएको छ ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वभर एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह मनाइन्छ । ‘एक स्वास्थ्य एक अभियान,प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ नाराका साथ मनाइदैछ ।

यसको मुख्य उद्देश्य एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियल औषधिको उचित प्रयोगबारे जनचेतना फैलाउनु र भविष्यका पुस्ताका लागि यी औषधिको प्रभावकारिता जोगाउनु हो ।

नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) अर्थात प्रतिजैविक प्रतिरोध अवस्था जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । चिकित्सकको परामर्शबिना आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नामक मौन महामारी बढ्न थालेको छ ।

बिश्वमै कतिपय एन्टिबायोटिकले काम नगरेर  ज्यान जानेको संख्या बढ्न थालेको छ । पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नया औषधि (एन्टिबायोटिक) को खोज हुनसकेको छैन ।

अहिले नै कुनै प्रयास थालिएन भने सन् २०५० सम्ममा एएमआरका कारण विश्वमा बार्षिक  एक करोड मानिसको ज्यान जाने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ ।

यसको बिकराल अवस्थालाई मनन गर्दै एन्टीमाइक्रोबियल रेजिस्टेन्स अर्थात प्रतिजैविक प्रतिरोध सम्बन्धी राष्ट्रिय कार्ययोजना नै बनाएर काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ ।

एन्टिबायोटिक आधुनिक चिकित्साविज्ञानको अमूल्य उपलब्धि हो । यसले लाखौँ मानिसको ज्यान बचाएको छ । तर यसको प्रयोग अत्यन्त सामान्य र लापरबाहीपूर्ण बन्दै गएको छ ।

चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले कीटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको एएमआर विज्ञ डा. पल्पसा कंसाकारले बताउनुभएको छ । 

प्रकाशित मिति:
थप समाज