नेभिगेशन

३० वर्षदेखि सगरमाथाको ‘डेथ जोन’ मा अलपत्र शव ‘ग्रीन बुट्स’ लाई घर फर्काउने प्रयास !

सगरमाथाको ८ हजार ५०० मिटरमा पर्ने ‘डेथ जोन’मा बितेको ३० वर्षदेखि रहेको चर्चित शव ‘ग्रीन बुट्स’ लाई घर फर्काउने अभियान शुरू भएको छ ।

सन् १९९६ को ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मोरुपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ ।

हरियो र पहेँलो रङको बुट लगाएका कारण ‘ग्रीन बुट्स’ नाम दिइएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि ३ दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो ।

शुरूमा त्यो शव सहकर्मी त्सेवाङ पालजोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो शव दोर्जे मोरुपकै भएको निष्कर्ष निकालेको हो ।

माइनस ४० डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको शव तल ओराल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ । यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा शव भारत पुर्‍याउने र डीएनए परीक्षणपछि परिवारलाई बुझाउने योजना बनाइएको छ ।

आफ्ना पति कहिल्यै नफर्कने खबर पाए पनि ३० वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ ।

लद्दाखमा रहेको घरमा रहेका मोरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ‘ग्रीन बुट्स’ लाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन् ।

प्रकाशित मिति:
थप समाज