नेभिगेशन

दोलखाको यालुङ री हिमालमा हराएका ५ जनाको शव ९ महिनापछि फेला

काठमाण्डाै – दोलखाको यालुङ री हिमालमा हिमपहिरोमा परेर हराएका ५ जना आरोही तथा गाइडको शव झन्डै ९ महिनापछि फेला परेर सङ्कलन भएको छ ।

गएको कात्तिकमा ६ हजार ३३२ मिटर अग्लो डोल्मा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ री पुगेका उनीहरू हिमपहिरोमा परेर बेपत्ता भएका थिए ।

हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टरमार्फत उद्धार गरी २ वटालाई काठमाण्डौ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले जानकारी दिनुभयो ।

फेला परेका शवमा २ जना नेपाली गाइडसहित जर्मन, इटाली तथा क्यानडाका १–१ जना रहेका छन् । डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ ।

मौसम प्रतिकूल भए पनि आज बिहान केहीबेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो । पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्णरूपमा शव सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा ७ जना परेकामा घटनालगत्तै इटाली र फ्रान्सका २ जनाको शव भेटिए पनि बाँकी बेपत्ता थिए । अब काठमाण्डौबाट प्रशासनिक प्रक्रिया पूरा गरेर शव परिवारलाई हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति:
थप समाज