पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान्ड र क्यानडाबीचको खेलले ५ हजार खेलको कोशेढुङ्गा पार गरेको हो ।
सन् १९७१ को जनवरीमा शुरू भएको यो फर्म्याट ५५ वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ ।
पुरुष एकदिवसीय क्रिकेटको पहिलो खेल सन् १९७१ को जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच भएको थियो ।
यस्तै १०००औँ खेल १९९५ को मे महिनामा नटिङ्घमा घरेलु टोली इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजबीच भएको थियो । यसैगरी २०००औँ खेल २००३ को अप्रिल महिनामा यूएईको शारजाहमा पाकिस्तान र जिम्बावे, ३०००औँ खेल २०१० को जुन महिनामा साउथह्याम्टनमा घरेलु टोली इङ्ग्ल्यान्ड र अस्ट्रेलिया तथा ४०००औँ खेल २०१८ को मार्च महिनामा जिम्बावेको हरारेमा पीएनजी र हङकङबीच भएको थियो ।
पुरुष एकदिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै १ हजार ८१ खेल खेलेको छ । यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले १ हजार २५ र तेस्रो स्थानमा रहेको पाकिस्तानले १ हजार २ खेल खेलेको छ । यी ३ वटा देशले मात्रै १ हजारभन्दा धेरै खेल खेलेका हुन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै जित्ने टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले ६१७, भारतले ५७१ र पाकिस्तानले ५१२ खेल जितेको छ ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै हार्ने टोली श्रीलङ्का हो । श्रीलङ्काले ४६१, भारतले ४५० र पाकिस्तानले ४३९ खेल हारेको छ ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान इङ्ग्ल्यान्डको नाममा छ । सन् २०२२ को जुन महिनामा आम्स्टेलभिनमा इङ्ग्ल्यान्डले घरेलु टोली नेदरल्यान्ड्ससँगको खेलमा ४ विकेट गुमाएर ४९८ रन बनाएको थियो ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रन बनाउने कीर्तिमान जिम्बावेको नाममा छ । सन् २००२ को अप्रिल महिनामा हरारेमा श्रीलङ्कासँगको खेलमा घरेलु टोली जिम्बावे ३५ रनमा अलआउट भएको थियो ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान भारतका विराट कोहलीको नाममा छ । कोहलीले ५४ शतक बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान भारतकै सचिन तेन्दुलकरको नाममा छ । तेन्दुलकरले १८ हजार ४२६ रन बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने कीर्तिमान पनि तेन्दुलकरकै नाममा छ । उनले ९६ अर्धशतक बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा व्यक्तिगत सबैभन्दा धेरै रन बनाउने कीर्तिमान भारतका रोहित शर्माको नाममा छ । सन् १०१४ को नोभेम्बरमा घरेलु मैदान कोलकातामा श्रीलङ्कासँगको खेलमो उनले २६४ रन बनाएका थिए ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान श्रीलङ्काका मुथैया मुरलीधरनको नाममा छ । उनले ५३४ विकेट लिएका छन् ।