नेभिगेशन

नाइमा एक्स्पोमा मोटरसाइकल र साना विद्युतीय गाडीमा आकर्षण

काठमाण्डौ – भृकुटीमण्डपमा अस्ति मंगलबारदेखि शुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा मोटरसाइकल र साना विद्युतीय गाडीमा आकर्षण बढेको छ ।

एक्स्पोमा सहभागी कम्पनीहरूका अनुसार सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको रुची बढी देखिएको छ । अवलोकनकर्ताहरुले विद्युतीय गाडीका ब्याट्री क्षमता, मोटर, रेन्ज, किनेपछिको सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् ।

उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । प्रदर्शनीमा साढे १८ लाखदेखि ५० लाख रुपैयाँसम्मका विद्युतीय कार राखिएको छ । दुईपाङ्ग्रेतर्फ झण्डै २ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटरहरू प्रदर्शनी एवम् बिक्रीका लागि राखिएका छन् ।

विद्युतीय र पेट्रोल दुवै इन्जिनका गाडीको उपस्थिति रहेको यस प्रदर्शनीमा आधा दर्जनभन्दा बढी प्रिमियम तथा लग्जरी ब्रान्डका मोटरसाइकलहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । हिजो दोस्रो दिन विभिन्न ब्रान्डका चार नयाँ मोडलका गाडी सार्वजनिक भएका छन् । पहिलो दिन अस्ति मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका गाडी सार्वजनिक गरेका थिए ।

हिजो २६ हजारभन्दा बढीले र अस्ति २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका आयोजकले जनाएको छ । आउँदो आइतबारसम्म चल्ने मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय गाडी निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक गाडी मुख्य आकर्षणका रूपमा रहेका छन् । नेपालमा पछिल्लो समय विद्युतीय गाडीप्रति बढ्दो आकर्षणलाई यस एक्स्पोले थप बल पुर्याएको छ । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले गाडी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

प्रकाशित मिति:
थप सडक र सवारी