नेभिगेशन

आज १० जिल्लामा बाढीको जोखिम

काठमाण्डौ – आज १० वटा जिल्लामा बाढीको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेखलगायत जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ ।

नदी तथा खोलानालामा आगामी तीन दिन पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । यद्यपि नारायणी नदीअन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ्ने तथा त्यसपछिको दिन पनि उल्लेख्य बहाव रहने अनुमान गरिएको छ ।

नारायणीअन्तर्गत त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालीगण्डकीलगायत नदीमा पनि बहाव बढ्ने सम्भावना छ । भोलि गण्डकी प्रदेश भएर बहने केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने र पर्सि पनि गण्डकी प्रदेशका केही साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने नागरिकलाई मौसम तथा नदीको बहावसम्बन्धी सूचना हेरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी साना नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाको सुझाव छ । 

प्रकाशित मिति:
थप समाज