नेभिगेशन

एसियाली खेलकुदका लागि नेपाली खेलाडीको तयारी तीव्र

काठमाण्डौ — जापानको आइची–नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि नेपाली खेलाडीले तयारी तीव्र पारेका छन् ।

नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले प्रतिनिधित्व गर्दैछन् । कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाडीले पछिल्लो एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन् ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाडीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन् ।

विजय माझीले यसअघि लामो समय तमोर नदीमा र्‍याफ्टिङ गाइडका रूपमा काम गरेका थिए । नदीको तीव्र बहाव र कठिन परिस्थितिमा र्‍याफ्टिङ गराएको अनुभव अहिले क्यानोइङमा उपयोगी बनेको उनको भनाइ छ ।

प्रशिक्षक मगरका अनुसार खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि अन्तरराष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पारिएको छ । फेवातालमा भइरहेको प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुगेको प्रशिक्षक मगरले बताउनुभएको छ ।

नेपालले यसपटकको एसियाली खेलकुदमा विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ ।

प्रकाशित मिति:
थप खेलकुद