नेभिगेशन

अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा अन्त्य गर्ने प्रक्रिया शुरू

काठमाण्डाै – अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) ले नेपालसहित १३ वटा देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात् टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ ।

अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो ।

पछिल्लो सूचनाअनुसार नेपालसहित हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथियोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् २०१५ को जुन २४ तारिखमा पहिलो पटक टीपीएस सुविधा दिइएको थियो । यस सुविधाअन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देशनिकालाबाट सुरक्षा पाउँदै आएका थिए ।

डीएचएसको तथ्याङ्कअनुसार शुरूमा झन्डै १२ हजार ७०० जना नेपाली यस सुविधामा आबद्ध थिए । तीमध्ये झन्डै ५ हजार ५०० जनाले स्थायी बसोबास अर्थात् ग्रीन कार्ड प्राप्त गरिसकेका छन् । बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन् ।

टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देशनिकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ । तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन् ।

प्रकाशित मिति:
थप समाज